राजनीति
बिद्रोही दल अर्थात नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन्।
बेलकोटगढी नगरपालिका-१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पुर्याइएको छ ।
मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको नेकपाका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो।
चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो। भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो।
साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोगमा मुद्दा चलाउने तयारी गरेको बुझिएको छ ।
गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट पुर्याएको थियो।