राजनीति
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरे लगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष पाँच नेताको छलफल खुमलटारमा सुरु भएको छ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा सचिवालयका असन्तुष्ट पाँच नेता छलफलमा जुटेका हुन्। ‘पाँचैजना नेता खुमलटार पुगिसक्नु भएको छ’, खुमलटार निकट स्रोतले भन्यो, ‘भर्खरै उहाँहरुबीच छलफल सुरु भएको हो।’
छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। सिफारिस भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि नेकपाका असन्तुष्ट नेता र प्रमुख प्रतिपक्षी दलले असन्तुष्टि जनाएका छन्।
यसअघि नै प्रचण्डले भने अध्यादेश तत्काल खारेज हुनुपर्ने बताइसकेका छन्। कांग्रेसलेसमेत अध्यादेश आएकोप्रति आपत्ति जनाएको छ।
प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले अध्यादेश आए लगत्तै मगंलबार साँझ प्रधानमन्त्रीले बोलाएको संवैधिानिक परिषद् बैठकमा नजाने बताइसकेका छन् ।