logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एकअर्काकाे प्रस्ताव खारेज गर्ने ओली प्रचण्डबिच सहमति


  • राजनीति
  • बुधबार, पुष १ २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद केही मत्थर भएको छ । बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच पार्टी विवाद हल गर्नका लागि महत्त्वपूर्ण समझदारी भएको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।

(नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भदौ २६ को निर्णयमा फर्किने सहमति भएको छ । बुधबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यस्तो सहमति भएको हो ।

अध्यक्षद्वयको सहमतिबारे स्थायी कमिटी बैठकमा जानकारी गराइएको छ । भदौ २६ को निर्णयमा फर्किने सहमतिसँगै अध्यक्षद्वयले यसअघि आदानप्रदान भएका आरोपपत्रसमेत फिर्ता लिने भएका छन् ।

यो सहमतिसँगै नेकपाभित्रको विवाद तत्कालका लागि साम्य भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सहमति लगत्तै बालुवाटारमा दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन घण्टा ढिला गरी सुरु भएको हो ।

भदौ २६ मा प्रचण्डले पार्टी र ओलीले सरकार सञ्चालन गर्ने तर एकआपसमा महत्वपूर्ण निर्णय गर्दा समन्वयमा अगाडि बढ्ने गरी कार्यविभाजन गरेर जाने समझदारी भएको थियो।

पार्टी भित्र नेतृत्वको कार्यविभाजनमा ओली र प्रचण्डबीच मनमुटाव भएपछि साउन ३० गते महासचिव पौडेलेको संयोजकत्वमा ‘विवाद समस्या समाधान सुझाव कार्यदल’ गठन गरिएको थियो।

कार्यदलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता जनार्दन शर्मा र पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सहभागी थिए। कार्यदलले ओली र दाहालबीच गत वर्ष मंसिर ४ गते भएको कार्यविभाजन सम्बन्धी सहमतिलाई पुर्नव्याख्या गर्दै ओलीले पुर्णरुपमा सरकार चलाउने र प्रचण्डले पुर्णरुपमा पार्टी चलाउने तर एकअर्कासँग समन्वय गर्नुपर्ने प्रस्तावसहित १५ बुँदे प्रतिवेदन दिएको थियो।

उक्त प्रस्तावमा संवैधानिक नियुक्ति, राजदूत नियुक्ति र मन्त्रिपरिषद् हेरफेर गर्दा पार्टीको सल्लाह–सुझाव लिनुपर्ने निर्णय भएको थियो ।

पार्टी एकताका अन्य निर्णयसमेत गरेर कार्यदलले भदौ ६ गते आफ्नो प्रतिवेदन ओली र दाहालसमक्ष पेश गरेकोमा उनीहरुले त्यसमा सहमति जनाउँदै २५ भदौको स्थायी कमिटी बैठकमा पेश गरेका थिए। स्थायी कमिटी बैठकले पनि त्यसलाई अनुमोदन गरेपछि तत्कालका लागि नेकपाको विवाद साम्य भएको थियो ।

त्यसपछि प्रधानमन्त्री ओलीले एकलौटी रुपमा सरकार सञ्चालन गरेको भन्दै ओली र प्रचण्डबीच असन्तुष्टि चुलिएको थियो ।

समझदारीअनुसार गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै ल्याएको प्रस्ताव फिर्ता लिने समझदारी भएको छ भने त्यसको जवाफमा ओलीले ल्याएको प्रस्तावको साटो अब एकीकृत प्रस्ताव बनाएर बैठकमा छलफलका लागि पेश गरिने छ ।

यसअघि दु्बै प्रस्ताव सचिवालय बैठक हुँदै स्थायी समितिसम्म छलफलका लागि लगिएपछि नेकपाभित्रको विवादले उग्र रुप लिएको थियो ।

यस्तै ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि फिर्ता हुने भएको छ भने संसदको अधिवेशन बोलाउन प्रचण्ड–माधव नेपाल समूहले गलाएको हस्ताक्षर अभियान पनि स्थगन गर्ने सहमति बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार