राजनीति
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ संवैधानिक परिषद् बैठक बोलाएका छन्। विवादित अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले परिषद् बैठक बोलाएपछि अन्योल बढेको छ। मन्त्रिपरिषद् बस्नुभन्दा अघि नै अध्यादेश बमोजिम परिषद् बैठक बोलाएकोले यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहभागी नहुने भएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले अध्यादेश फिर्ता नलिएसम्म परिषद् बैठकमा सहभागी नहुने र परिषद्ले गरेका कुनैपनि निर्णय पार्टीलाई मान्य नहुने अन्नपूर्ण अनलाइनलाई बताए। उनले भने,’ हिजो मात्र प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाइसकेको अवस्थामा अध्यादेश फिर्ता लिनुको सट्टा फेरि पनि परिषद् बैठक डाक्नु भनेको उहाँमा सर्वसत्तावादी सोच झनै प्रस्ट स्पष्ट देखिन्छ।’
मंगलबार बिहान बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो। त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संवैधानिक परिषदमा आफू अनुकुल निर्णय गर्न मिल्ने गरी अध्यादेशको ल्याउने निर्णय गरेका थिए र राष्ट्रपतिले तत्कालै जारी गरेकी थिइन्।
यसको सबैतिरबाट आलोचना र विरोध भएपछि बुधबार दुई अध्यक्षबीच फिर्ता गर्ने सहमति भएको थियो। नेकपाका असन्तुष्ट नेताहरुले राष्ट्रपतिसँग विशेष अधिवेशन मागसहित ८८ सांसदको हस्ताक्षरसहित निवेदन पत्र लिएर नेता भीम रावल र पम्फा भूषाल राष्ट्रपति कार्यालय गएका थिए। सहमति पछि त्यो निवेदन पनि स्थगित गरिएको थियो।