logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओली यदुवंशी भए : नेता गुरुङ


  • राजनीति
  • बिहिबार, पुष २ २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

पूर्व माओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करिब चारसय मुद्धा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको गुरुङले बताए ।

‘द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्’–बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’

नेता गुरुङले नेपालमा विदेशी हस्तक्षेप र प्रभुत्व बढेको र फुटाऊ र शासन गर नीति अनुसार नेपाललाई अस्थिर बनाइराख्ने खेल भइरहेको तर्क गरे । ‘विदेशी हस्तक्षेप रोक्न नसके मुलुक अफगानिस्तान, सिरिया र सिक्किम हुनसक्छ, विदेशी सैनिकको क्रिडास्थल बन्नसक्छ’–गुरुङले भने ।

अर्को प्रसंगमा उनले पार्टीमा मतभेद हुनेवित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताए । प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको उनले औंल्याए । ‘मेरो राजीनामा माग्नु व्यक्तिगत मामिला हैन, पार्टीले संस्थागत निर्णय गरेर आउनुपर्नेमा त्यो नहुनु चिन्तनमा गम्भीर विचलन हो’, गुरुङले भने–‘यस्तो विचलनले दुर्घटना निम्तिन सक्छ ।’

आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णयविना राजीनामा नदिने स्पष्ट पारे ।

स्वर्गीय शुकदेव गुरुङलाई शहीद घोषणा गर्न दवाव दिन शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले आयोजना गरेको अन्तर्क्रियामा नेकपा प्रमुख सचेतक गुरुङले शुकदेवलाई शहीद घोषणा गर्नुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार