राजनीति
चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) फोर्डिडन सिटीमा चलिरहेको प्रदर्शनीमा नेपालमै रहेको भनिएको श्रीपेच राखिएको छ ।
श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्, तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरु कुनै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाल र नेपालीबारे चासो राख्नेहरुले यसलाई अभिरुचिपूर्वक हेर्ने गरेका छन् ।
तर नेपालको श्रीपेचलाई जेम्स एन्ड जेवल्स अफ इन्डिया अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक दिएर प्रदर्शनीमा राखिएको छ । नेपालको श्रीपेच यसरी भारतीय वस्तुको प्रदर्शनीमा कसरी पुग्यो भन्नेमा कसैले चासो दिएको पाइन्न । श्रीपेच सक्कली या नक्कली के हो भन्ने यकिन छैन । प्रदर्शनीअघि नेपालसँग यसबारे कुनै अनुमति नलिएको कान्तिपुर समाचारमा उल्लेख छ ।