logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

तस्करले लुटे धनुषाका प्रहरी, निरीह बने ‘क्राइम ब्रान्च’ प्रहरी ! उल्टै खाए कुटाई

एसपी थपलिया बाटोबाटै फर्किए


  • राजनीति
  • शुक्रबार, जेष्ठ २५ २०७५

जनकपुरधाम – धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिका–५ बहेडा बेला चौकीका प्रहरी तस्करको जत्थाबाट लुटिएका छन् । तस्करको समूहले तस्करी भइरहेको अवस्थामा प्रहरी बरामद गरेर सामान चौकीबाटै लुटेर लगेको छ ।

तस्करीको सामान फिर्ता लैजान आएको तस्करको समूहले प्रहरी चौकीमा तोडफोड गर्दै प्रहरीमाथि हातपात समेत गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका ‘क्राइम ब्रान्च’को टोलीले स्थानीय बहेडाबेला प्रहरी चौकीका प्रहरीको सहयोगमा भारतबाट अवैध रुपमा तस्करी गरी ल्याएका सामान बरामद गरेको थियो ।

लगत्तै तस्करले स्थानीय महिलालाई उचालेर बरामद गरिएका सामान प्रहरीबाट लुटेर लगेको थियो । चौकीमा भएको घटना जिल्ला पुगेपछि आज सार्वजनिक भएको छ । लुटपाटका क्रममा प्रहरी टोलीमाथि हातपात, प्रहरी चौकीको साइन बोर्ड र वडा कार्यालयमा तोडफोड गरिएको छ । वडा कार्यालयमा राखिएको एम्बुलेन्स समेत क्षति पुगेको प्रहरी चौकी बहेडा बेलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) पवनकान्त मिश्रले बताए ।

‘बहेडा बेलाका तस्कर जयकुमार यादवको घरमा अवैध तस्करीका सामान लुकाएर राखेको सूचनाका आधारमा उसको घरमा खानतलासी गर्दा सामान पाइएन । उसले अन्यत्रै सारेको थियो,’ असई मिश्रले भने, ‘त्यसपछि हामीले स्थानीय माधुरी मुखिया र बली मुखियाको घरबाट ती तस्करी गरी अवैध रुपमा भित्र्याइएका सामानहरू नियन्त्रणमा लियौं ।’

‘त्यतिबेला जिल्लाबाट खटिएका ‘क्राइम ब्रान्च’का २ जना र स्थानीय चौकीका २ जना गरी ४ जना प्रहरी मात्र थियौं, सामान नियन्त्रणमा लिए लगत्तै स्थानीय तस्कर जयकुमार यादवले गाउँका २ सय जना जति महिलालाई ल्याएर हामीमाथि धावा बोल्ने काम भयो,’ असई मिश्रले थपे, ‘प्रहरीमाथि हातपात गर्नुका साथै पोशाक समेत च्यात्ने काम भयो । बरामद गरिएको अवैध सामान लुटेर लगे । त्यतिबेला हामीले बल प्रयोग पनि गर्न सक्थ्यौं । तर, मानवीय क्षति हुन सक्थ्यो, हामीले जिल्लामा खबर गरेर थप टोली झिकायौं ।’ स्थानीयको भीडले प्रहरी चौकीलाई घेरा हाल्दै चौकीको पूरै टीममाथि हातपात गरेर प्रहरीविरुद्ध नाराबाजी गरेको उनले बताए ।

प्रहरी निरीक्षक रामकिशोर साह नेतृत्वको ३० जना सुरक्षाकर्मीको टोलीले समेत भीड नियन्त्रण गर्न नसकेपछि धनुषाका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलियालाई घटनास्थलमा बोलाइएको थियो । तर, स्थिति नियन्त्रणमा आएपछि एसपी थपलिया बाटोबाटै फर्किएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले घटनाबारे प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । अभियुक्तमाथि प्रतिवेदनको आधारमा प्रहरीमाथि हातपात, सरकारी सम्पत्ति तोडफोड, एम्बुलेन्स तोडफोड लगायतको मुद्दा चल्ने मिश्रले बताए ।

‘घटनाको अनुसन्धान गरिरहेका छौं, तस्करी गर्ने र प्रहरीलाई हातपात गर्नेलाई आवश्यक कानूनी कारबाही गरेरै छाड्छौं,’ धनुषाका एसपी थपलियाले लोकान्तरसँग भने, ‘प्रहरीले चेकजाँच गर्दा अवैध तस्करीका सामान बरामद गरी पनि तस्करले महिलालाई उचालेर सामान लुट्नुका साथै प्रहरीमाथि पनि हातपात गरेको देखिएको छ । घटनालाई हामीले अत्यन्तै गम्भीरतापूर्वक लिएका छौं ।’ बहेडा बेला गाउँ भारतको सीमा नाकामा पर्ने गाउँ भएका कारण तस्करी गर्ने संगठित गिरोह सक्रिय हुने गरेको छ ।

लोकान्तरवाट साभार

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार