राजनीति
गत जेठ ३ गते एकता गरेका दुई ठुला पार्टी माओवादी केन्द्र र एमाले बाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् ।
माथिल्लो कमिटी देखि तल्ला जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन ।
यधपी लगातार दुई कार्यकालको अवधि भने कहिलेबाट गणना हुने भन्ने प्रष्ट उल्लेख नरहेको एक नेताले जानकारी दिए । यदि एकता भएदेखिकै अवधिलाई आधार मान्ने हो भने केपी ओली र प्रचण्डले अब एक महाधिवेशनमा मात्र अध्यक्षको उम्मेदवार हुन पाउनेछन् ।
अन्तरिम विधानका मस्यौदाकार स्थायी कमिटी सदस्य बेदुराम भुसालले दुई कार्यकालको गणना कहिलेबाट गर्ने भन्ने ब्याख्या हुन बाँकी रहेको बताए । तत्कालिन एमाले र माओवादी केन्द्रमा पदाधिकारी रहँदाको अवधिलाई पनि गणना गर्ने कि पार्टी एकतापछिको कार्यकाल गणना गर्ने भन्ने केन्द्रीय कमिटीले ब्याख्या गर्ने भुसालले बताए ।