राजनीति
नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दैनिकजसो एउटै मञ्चमा देखिँदै आएका छन् । काठमाडौँ उपत्यका भित्रका कार्यक्रममा मात्रै होइन विराटनगरदेखि धनगढीसम्मका कार्यक्रमा पनि प्रचण्ड र माधव नेपाल सँगसँगै हुँदै आएका छन् । यसरी एउटै कार्यक्रममा सँगै मञ्चमा बस्ने दुवै नेताले एकअर्काको तारिफ पनि गर्न भ्याउथेँ । आफूहरुबीचको सम्बध धेरै पुरानो र एकअर्काबीच विचार र भावना पनि अति नै मिल्ने दावी उनीहरुले गर्दै आएका छन् ।
त्यही विचार मिलेकाले नै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आफूहरु एकठाउँमा उभिएको दावी गर्ने प्रचण्ड र नेपाल शनिबार भने एउटै मञ्चमा देखिएनन् ।
यति धेरै मिल्ने दुई नेता ऐतिहासिक जनयुद्ध दिवसका दिन पनि एकै मञ्चमा देख्न चाहन्थे, सो पक्षका नेता कार्यकर्ता । तर, जनयुद्ध दिवसका दिन नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्ड एक्लै देखिए भने धेरैले नेपाल किन सहभागी भएनन् भन्ने चासो राखे ।
शनिबार पेरिसडाँडास्थित कार्यालयमा जनयुद्ध दिवसका दिन सहिद स्मृति तथा सम्मान कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका पूर्व माओवादीतर्फका उल्लेख्य नेताकार्यकर्ता सहभागी थिए । यो कार्यक्रममा पूर्व एमालेतर्फका रघुजी पन्त, बेदुराम भुषाल, अष्टलक्ष्मी शाक्य र योगेश भट्टराई सहभागी थिए ।
कार्यक्रममा उपस्थित भएका कार्यकर्ताबीच सधैं मञ्चमा दुवै अध्यक्ष देखिने गरेपनि सहिद दिवसको अवसरमा आयोजित कार्यक्रममा एक अध्यक्ष प्रचण्डमात्रै देखेपछि अर्का अध्यक्ष नेपाल कता गएछन् ? भनेर खासखुस चलेको थियो ।
मञ्चमा नेपाल नदेखेपछि पहिला केपी ओलीले पहिले जनयुद्ध मन नपराउने अहिले माधव नेपालले मन नपाराएको हो कि ? भन्ने कार्यकर्तावीच खासखुस नै चल्न पुगेको थियो । अध्यक्ष नेपाल शनिबार धनकुटाको पूर्वनिर्धारित अर्को कार्यक्रममा सहभागी भएको बताइएको छ ।
यद्यपी नेपालको जनयुद्ध दिवसको अवसरमा भएको अनुपस्थितिलाई लिएर पेरिसडाँडामा केही पूर्वमाओवादी निकटका कार्यकर्ताले भने असन्तुष्टि जनाए । पेरिसडाँडामा भेटिएका एक कार्यकर्ताले भने, ‘नेपालको अनुपस्थिति सही लागेन, उहाँले जनयुद्ध दिवसलाई प्राथमिकता दिनुपथ्र्यो ।’ अघिल्ला वर्षहरुमा ओलीले जनयुद्धको विरोध गर्दा समेत माधव पक्षले आफूहरुलाई जनयुद्धको पक्षमा देखाउने गरेका थिए । तर अहिले भने नेपाल अनुपस्थित रहेका हुन् ।
नेकपा स्रोतका अनुसार सो पार्टीको केही दिनअघि बसेको बैठकमा जनयुद्ध दिवसको विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एक नेता भन्छन्, ‘बैठकमा जनयुद्ध दिवसका बारेमा प्रश्नहरु उठेका थिए । त्यसक्रममा छलफलहरु हुँदा सहिद स्मृति तथा सम्मान कार्यक्रम राख्ने कि जनयुद्ध दिवस नै राख्ने भन्नेमा नेताहरुबीच मतभेद भएको थियो’, ती नेताले भने, ‘पूर्व एमालेका साथीहरुलाई सायद जनयुद्ध दिवस मन नपरेको हुनसक्छ ।’
पूर्व माओवादी पक्षले २०५२ साल फागुन १ मा थालेको सशस्त्र आन्दोलनको स्मरणमा फागुन १ लाई जनयुद्ध दिवस मनाउँदै आएको छ र सोही अनुसार मनाइयो ।
यसैबीच धनकुटामा माधव नेपाल सहभागी भएको कार्यक्रममा जनयुद्ध दिवसका विषयमा कुनै चर्चा नभएको बताइएको छ ।