logo बिहिबार, असोज २२ २०८३ | Thursday 8th October 2026

माेदीकाे सहयोग बिना सरकार बनाउन सकिँदैन : प्रचण्ड


  • राजनीति
  • शनिबार, फाल्गुन १५ २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको नेपालको सम्बन्धलाई सुमधुर बनाउनुपर्नेमा जोड दिएका छन् ।हिजाे राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले भने-“पहिलो कुरा भारतसँग नेपालको सुमधुर सम्बन्ध बनाउनुपर्छ । सुदृढ बनाउनुपर्छ । आपसी विश्वासको धरातलमा उठाउनुपर्छ भन्ने मान्यता मैले पाँच सात वर्षदेखि लगातार, यो मान्यतामा छु म । भारतसँग राम्रो समझदारी नबनाईकन नेपालमा विकास, समृद्धि र स्थायित्व चाहीँ चूनौति हुन्छ भन्ने कन्भिक्सनका साथ भनेको छु मैले । र, यो बीचमा जति मेरो भारतमा भ्रमण हुँदा, नेताहरुसँग भेट्दा मैले त्यही कुरा भनेको छु । र, अहिले के तपाईँले भनेजस्तो कता कता प्रचण्डले भन्याजस्तो गर्न सकेन भन्ने पर्या होला, तर मेरो भनाई के छ भने मैले त्यहाँ कुनै अर्को मनशायले गरेको छैन्, मैले कतिवेला के गर्न सकें ? कतिवेला के गर्न सकेंन ? त्यो हाम्रो आन्तरिक मामिला हो ।

हाम्रो पार्टीको आन्तरिक मामिला पनि हो । मैले कसैलाई अविश्वास पैदा होस भनेर गरेको छैन् । भारतप्रति नकारात्मक सोच राखेर मैले केही पनि गरेको छैन् । मैले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनुपर्छ, भारतसँगपनि र चीनसँग पनि भन्याछु । तर, भारतसँगको विशिष्ट छ है ।”

दाहालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले अघि थपे,”हाम्रो इतिहासले, भूगोलले, संस्कृतिले, धर्मले, अर्थतन्त्रले, परम्पराले, पानी ढलोले, भारतसँगको सम्बन्ध राम्रो बनाउनुपर्छ भन्ने निश्चित गरेकै छ । तर, भारतले मजस्तो मान्छेलाई, जसले शान्ति र लोकतन्त्रको निम्ति यत्रो सेक्रिफाईस गर्यो, मलाई चाहीँ अविश्वास गर्ने हुन्छ भन्ने मलाई लाग्दैन् ।

मैले भारतमा जाँदा म प्रति करिब करिब, नेपालमा हुन्छ नि मान्छेहरु बेला बेलामा गाली गर्छन्, बेस्सरी यसले खत्तम पार्यो पनि भन्छन्, तर फेरि लाष्टमा नेता त उही हो पनि भन्छन् । भारतीय जनताले पनि मलाई माया गर्छन् । भारतीय जनता, भारतभरि नै प्रचण्ड राम्रोसँग चिनिन्छ । जनताकै तहमा चिनिन्छ । त्यहाँको मिडिया, त्यहाँको बुद्धिजिवी र त्यहाँका आम जनताले पनि सबभन्दा बढि प्रचण्डलाई चिन्छन् । र, माया गर्छन् । किनभने शान्ति ल्यायो ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नोबारे खुलेर प्रशंसा गर्ने गरेको दाहालले स्मरण गराए । उनले भने,”अब प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा भाषण गर्दा युद्धबाट बुद्धतिर, युद्धबाट शान्तितिर तपाईँहरुले ठूलो काम गर्नुभयो भने जो भाषण गर्नुभयो, मैले बुझेको छु त्यो उहाँले चाहीँ मलाई भन्नुभएको हो ।

मेरो बारेमा र नेपालको बारेमा संयुक्त राष्टसंघको अधिवेशनमा बोल्नुभयो, नेपालमा शान्ति विश्वकै निम्ति एउटा उदाहरण हो भन्ने स्पिरिटमा बोल्नुभयो । उहाँले लालकिल्लाबाट पनि हाम्रो बारेमा बोल्नुभयो । उहाँले मलाई कसरी अविश्वास गर्न सक्नुहुन्छ ? म कल्पना पनि गर्न सक्दिन् ।

एउटा असल मित्रको रुपमा, एउटा असल छिमेकीको रुपमा, अन्ततः त्यो यदि कहीँ बादल लागेको छ, अलि अलि तुवाँलो लागेको छ भने त्यो क्षणभरमै त्यो तुवाँलो फाटिन्छ । बादल हट्छ । उज्यालो हुन्छ । छ्यांग हुन्छ । र, हामी एक अर्काको, भारतीय कन्सर्न, चिन्ता, चासोलाई हामीले सकेसम्म छिमेकीको हैसियतले सम्बोधन गर्ने, हाम्रो चिन्ता र चासो, र हाम्रो आवश्यकत्तालाई भारतले सम्बोधन गर्ने यो सम्बन्ध फेरि विकसित हुन्छ भन्ने म ठान्दछु ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार