राजनीति
सरकार र नेकपा विप्लव नेकबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्ता सकरात्मक दिशातर्फ गएको सरकारी पक्षको भनाइ छ । बिहीबार पुनः वार्ता हुने भनिएको छ ।
विप्लव नेकपाबाट भने औपचारिक प्रतिक्रिया आएको छैन । सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले ‘सरकार र विप्लव समूहबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक रहेको’ भनेका छन् । उनले भनेका छन्, ‘केही विषयमा छलफल जारी छ, छिट्टै सुखद् परिणाम आउने अपेक्षा छ ।’सहित सामाजिक सञ्जाल मार्फत जनाए।
वार्ता समितिका सदस्य प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले पनि वार्ता सकरात्मक दिशातर्फ उन्मुख भएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली निकट एक नेताका भनाइमा पनि दोस्रो चरणको वार्ता प्रमुख विषयवस्तुमा प्रवेश गरेको छ । उनले भने, ‘सकारात्मक परिणाम चाँडै आउनेछ ।’
गृहमन्त्री बादलको सचिवालयले विप्लव नेकपा शान्तिपूर्ण बाटोमा जानेतर्फ लचक देखिएको जनाएको छ । गृहमन्त्री निकट स्रोत भन्छ, ‘समूह शान्तिपूर्ण बाटोमा आउने देखिएको छ, मन्त्रीज्यू उत्साहित हुनुहुन्छ, केही प्राविधिक विषयमा मात्र छलफल हुन बाँकी छ ।’ उनले प्राविधिक विषय भनेको के हो भन्ने नखुलाए पनि उनको संकेत समूहले अघि सारेको राजनीतिक विषयबारे हुनसक्ने अनुमान छ ।
विप्लव नेकपनतर्फबाट वार्ता समितिका संयोजक भूमिगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रिय सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले छिट्टै पार्टीतर्फबाट धारणा सार्वजनिक गर्ने तयारी गरेको स्रोतले बतायो ।
विप्लव नेतृत्वको नेकपाका एक नेताले भने वार्तामा पार्टीको राजनीतिक मुद्दाबारे अझै पनि ठोस कुराकानी भइनसकेको बताएकाे छ।
‘पार्टीतर्फबाट प्रतिबन्ध फुकुवा गरौं भनियो, हिरासत/कारागारमा रहेका बन्दीलाई छाड्नुपर्ने माग राख्यौं’, उनले अनलाइनखबरसँग भने, ‘सरकारतर्फबाट हतियार बुझाउनुस् भनियो, हामीसँग हतियार नै नभएको जवाफ दियौं ।’
पार्टीले अघि सारेको वैज्ञानिक समाजवाद र संसदीय व्यवस्थाबारे जनमत संग्रह गर्नुपर्ने मागबारे खासै कुरा नभएको उनी बताउँछन् । त्यसको विकल्पमा हाललाई ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाको विषयमा सरकार–विद्रोही दुवै पक्षको भिजन जनतामा लैजाउँ र संयुक्त सरकारबाट अघि बढौं’ भन्ने प्रस्ताव राखिएको ती नेताको भनाइ थियो ।