राजनीति
यही फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जनता समाजवादी पार्टी, नेपालले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गर्ने सहमति गरेको उच्च स्रोतले जनाएको छ ।
उता, नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले त कांग्रेस सभापति देउवालाई भेटेरै मिलेर सरकार बनाउनेबारे प्रस्ताव गरेका थिए । उनीहरुले आफूहरु प्रधानमन्त्री नबन्ने भन्दै सरकारको नेतृत्व गर्नसमेत देउवालाई आग्रह गरेका थिए । नेकपामा दाहाल नेपाल समूहसँग ९० जना सांसद रहेको भनिएको छ ।
प्रचण्डले त संसद् पूनःस्थापना नहुँदै सरकारको नेतृत्वमा आफ्नो कुनै दाबी नहुने भन्दै देउवालाई बनाउँदा आपत्ति नहुने बताएका थिए ।
उनले एक टेलिभिजन काे अन्तरवार्तामा देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरिने जनाएका थिए । आजको केन्द्रीय कमिटी बैठकमा समेत दाहालले परिस्थिति आफूहरुअनुकुल नै रहेको बताउँदै ढुक्क हुन नेताहरुलाई आश्वासन दिएका थिए ।
जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतबाट उपचारपछि स्वदेश फर्किएलगत्तै राजनीतिक सहमतिका आधारमा सरकार बनाउनुपर्ने धारणा राखेका थिए । नेताहरुको पछिल्लो भनाई नियाँल्दाखेरि परिस्थिति प्रधानमन्त्री ओलीको प्रतिकुल देखिएको छ ।
हुन त ओलीले पोखरा र झापामा हालै आयोजित छुट्टाछुट्टै कार्यक्रममा सम्बोधनको क्रममा आफूलाई हटाउने भए संसदमा आउन चूनौीत दिएका छन् । तर, सबै मिलेर हटाए केही वर्ष प्रतिपक्षमा बस्ने र फेरि चुनावमा दुई तिहाई जितेर सरकारमा आउने बताईसकेका छन् । पछिल्लो समय ओलीले परिस्थिति आफ्नो अनुकुल नदेखेपछि अहिले सबै मिलेर हटाएपनि चुनाव जितेर दुई तिहाईका साथ सरकारको नेतृत्व गर्न आउने अभिव्यक्ति दिन थालेका छन् ।