राजनीति
राजनीतिक संकट चुलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष बुधबार सिन्धुली पुगेका छन् । कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्रायः प्रचण्ड उपत्यका बाहिर जाने गर्दछन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताए ।
के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भने, ‘विल्कुल रिफ्रेसका लागि आउनुभएको हो । बिहीबार हामी सँगै फर्कन्छौ ।’ सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् । उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।
यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् । त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।
सत्ता समिकरणको गृहकार्य चलिरहँदा प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।
प्रचण्डले ओलीको बर्हिगमनका लागि काँग्रेस या जनता समाजवादी पार्टीबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ । नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुगेका हुन् ।