logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रेशम चाैधरी छुटाउन ५ सदस्यीय वार्ता टाेली, हेर्नुस् [नामसहित]


  • राजनीति
  • शनिबार, चैत्र १४ २०७७

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको रिहाइको माग गर्दै उनकै सयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ माइतीघर मण्डला पुगेपछि कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको नेतृत्वमा बसेको राजबन्दी परिवारको बैठकले उक्त वार्ता टोली गठन गरेको हो ।

थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले कुरा गर्दै भने, ‘ सरकारका गृहमन्त्री नै माइतीघरमा हाम्रो मागको लागि पुगेपछि हामी राजबन्दी परिवारले वार्ताटोली बनाएका हौं।’

उनका अनुसार वार्ता टोलीको संयोजकमा रेशम चौधरीलाई नै राखिएको छ भने सदस्यहरुमा लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी रहेका छन् ।

उनले उनले भने, ‘सरकारले वार्ताको वातावरण बनाएको हामीले महसुस गरेका छौँ। त्‍यसकारण वार्ता टोली गठन गर्‍यौ। तर रेशम चौधरीसँग जेलमा होइन वालुवाटारमा वार्ता गरेर मात्रै वार्ता गर्छौ हामी। ‘

अदालतबाट टीकापुर घटनामा दोषी ठहर गरिएका व्यक्ति र उनीहरूका परिवारका सदस्यको संयुक्त बैठकले चार बुँदे माग समेत राखेको बताए । उनले भने, ‘रेशमको रिहाइको लागि सर्वोच्च अदालतमा संयुक्त अपिल 20 गते भित्र गर्ने निर्णय पनि गरेका छौं।’

यस्तै काठमाडौंको माइतीघरमा रेशको रिहाइको माग गर्दै धर्नामा बसेको थारु कल्‍याणकारिणी सभाले भने आफूहरुसँग टोली वार्ताको लागि सरकारी पत्र आएको बताए । थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भने, ‘ हामीसँग वार्ताको लागि सरकारी पत्र मात्रै आएको छ। तर वार्ता टोली गठन गरेका छैनौ।’ टीकापुर घटना राजनीतिक मुद्दा भएकाले यसलाई फौजदारी मुद्दाको व्यवहार गर्नु नहुने उनको भनाई छ ।

यता, आज मात्रै नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर निलम्बित सांसद रेशम चौधरीलाई भेटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले जसपा पार्टीका निलम्बित सांसद चौधरीलाई भेटेका हुन् । ज्यान मुद्दामा सजाय भोगिरहेका चौधरीलाई बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार