अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । अध्यक्षमा श्याम सेन्चुरी,उपाध्यक्षमा लालबहादुर तामाङ,महासचिवमा दीपेन्द्र घिमिरे र सचिवमा सहदेव सिंह रहेनु भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी ब्युरो सदस्य एवं नवलपुर इन्चार्ज शरद वलीले – “दलाल पुँजीपति वर्ग र नेपाली श्रमिक वर्गबीच नै मुख्य अन्तरविरोध रहेको भन्दै मजदुर वर्गको मुक्ति वैज्ञानिक समाजवादमार्फत् हुने बताउनु भयो । साथै उहाँले मजदुर आन्दोलनको इतिहासमा नेतृत्वले कैयौंपटक धोका दिएपनि क्रान्ति नरोकिएको बताउँदै हरेक प्रतिक्रान्तिको जवाफ क्रान्तिले दिनुपर्ने बताउनु भयो । नेता वलीले पार्टी र सरकारले गरेको ३ बुँदे सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै संसदीय व्यवस्थाको विकल्पका रुपमा वैज्ञानिक समाजवादको पक्षमा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा जनमत निर्माण गर्ने बताउनु भयो । जनक्रान्तिका महान सहिद तथा बेपत्ता योद्धा संगठन नेपालका केन्द्रीय सचिव जया पौडेल र अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले शुभकामना मन्तव्य राख्नु भएको थियो ।