नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य बिषमले सरकारसित गरेको ३ बुँदे सहमतिमा संसदीय व्यवस्थालाई अस्वीकार गरेको भन्दै जनयुद्ध, जनआन्दोलन र जनक्रान्तिका महान सहिद तथा बेपत्ता योद्धाहरुको सपनालाई क्रान्तिमार्फत पुरा गर्ने बताउनु भएको छ । जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्धारा बेपत्ता योद्धा परिवार समाज नेपालको संयुक्त आयोजनामा बुटवलमा गरिएको अन्तरक्रियामा बोल्दै नेता बिषमले सैद्धान्तिक रुपले वार्ताबाट क्रान्ति नहुने तर क्रान्तिका लागी वार्ताबाट महत्वपूर्ण काम गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले विगतमा वार्ताबाट धोका खादै आएका छौं, अहिले हामीले वार्ताबाट जनतालाई धोका नदिने क्रान्तिमार्फत् सहिदका सपना पुरा गछौं ।” नेता बिषमले भन्नुभयो, “सैद्धान्तिक दृष्टिले वार्ताबाट क्रान्ति हुँदैन तर क्रान्तिका लागी वार्ताबाट महत्वपूर्ण कामहरु गर्न सकिन्छ ।” उहाँले दलाल पुँजीवादी राज्यसत्ता रहँदासम्म महान सहिदहरुको सपना पुरा नहुने वताउदै प्रतिक्रियावादीहरुको दमनबाट बाँचेर आएको अतिरिक्त जीवन क्रान्तिमा नै समर्पित गर्ने बताउनु भयो । नेकपा केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो इन्चार्ज कृतिले संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य नै सहिद तथा बेपत्ता योद्धाहरुको सपना भएको बताउँदै ती सपना पुरा नहुँदासम्म संघर्ष जारी रहने बताउनु भयो । नेता कृतिले जनताको रक्षाभन्दा ठूलो मानवअधिकार अरु केही हुन सक्छ ? भन्ने प्रश्न गर्दै सत्ताले जनतामाथि बन्दुक चलायो भने जनतालाई त्यसको प्रतिरोध गर्ने अधिकार भएको बताउनु भयो । पार्टीले गर्ने संघर्ष कुनै रहरको बिषय नभएको र महान सहिद तथा बेपत्ता योद्धाहरुको सपना गर्ने एउटा कडी सरकारसित गरिएको ३ बुँदे सहमति भएको समेत बताउनु भयो । उहाँले पुँजीवादी सत्ताको विरुद्ध देशभक्त, क्रान्तिकारी, सच्चा लोकतन्त्रवादीहरुको एकीकृत संघर्षका लागी छलफल गर्न पार्टी तयार रहेको बताउनु भयो । नेकपा केन्द्रीय सदस्य सावित्रा दुराले आधारपत्र प्रस्तुत गर्दैै महान सहिदहरुको सपनामाथि राज्यले धोका दिदै आएको भन्दै क्रान्ति सम्पन्न नहुदासम्म संघर्ष जारी राख्नुपर्ने बताउनु भयो । उहाँले सहिद बेपत्ता योद्धाहरुका हत्याराहरुलाई राज्यले सम्मान र पुरस्कृत गरेर परिवारजनलाई अपमान गरेको समेत बताउनु भयो । नेकपा केन्द्रीय स्कुलिङ विभागका प्रमुख भेसराज भुसालले महान जनयुद्ध र जनआन्दोलनलाई संसदीय व्यवस्थाभित्र कैद गर्ने नेतृत्वको आत्मसमर्पणवादी र दलाल प्रवृत्तिका कारण सहिदहरुको सपना पुरा नभएको भन्दै शोषणकारी पुँजीवादी राज्यसत्ता रहँदासम्म सहिदहरुको सपना पुरा नहुने बताउनु भयो । उहाँले विचार, निष्ठा र आदर्शलाई सरकारले दिने पैसासित साट्न नसकिने समेत बताउनु भयो । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री, नेकपा मसालका प्रवक्ता नारायण जीसी, नेपाली कांग्रेसका जिल्ला नेता ज्योति भण्डारी, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठक, संगठनकी केन्द्रीय अध्यक्ष खुमा सुवेदी, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशका उपसचिव शन्तोष आचार्य, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनाल, बार एसोसियसन रुपन्देहीका उपाध्यक्ष ज्ञानु केसी, माक्र्सवादी विचार मञ्च नेपालका सचिव बिनबहादुर कुँवर, राष्ट्रिय स्वाधीनताका लागी नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीलगायतले सहिद तथा बेपत्ताहरुको जिम्मा राज्यले लिनुपर्ने भन्दै राज्य सञ्चालन गर्ने नेतृत्वको नालायकीपनका कारण सहिद परिवारको विचल्ली भएको बताउनु भयो । कार्यक्रममा लुम्बिनी ब्युरो अन्तर्गतका कपिलवस्तु, रुपन्देही, नवलपुर, पाल्पा लगायतका विभिन्न जिल्लाहरुबाट सहिद तथा बेपत्ता योद्धाका परिवारहरुको सहभागिता रहेको थियो । जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल र राज्यद्धारा बेपत्ता योद्धा परिवार समाज नेपालले यसअघि नेपालगञ्ज र दाङमा संयुक्त अन्तरक्रिया सम्पन्न गरिसकेको छ । बुटवलमा आयोजित कार्यक्रमको अवसरमा सहिद तथा बेपत्ता योद्धा परिवारका तुल्सा पाण्डेको अध्यक्षतामा ५ सदस्यीय राज्यद्धारा बेपत्ता योद्धा परिवार समाज नेपाल लुम्बिनी ब्युरो समेत गठन गरेको संगठनकी केन्द्रीय अध्यक्ष खुमा सुवेदीले बताउनु भयो