logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सकियाे सर्वदलिय बैठक, के के भए निर्णय ?


  • राजनीति
  • शनिबार, बैशाख ४ २०७८

नेपाली काँग्रेसले जारी राजनीतिक गतिरोधलाई छिटो निकास दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले लामो समय राजनीतिक संकट निम्तिँदा अन्य क्षेत्रमा पनि असर पर्ने भन्दै छिटो गतिरोध अन्त्यका लागि पहल गर्न ओलीलाई सुझाव दिएको हो ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले सरकारलाई राजनीतिक गतिरोधबारे चाँडो निकाश दिन सुझाएको बताए ।

यस्तै, कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न, तत्काल राष्ट्रियसभाको बैठक बोलाउन, प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया अघि बढाउन पनि काँग्रेसले माग गरेको बताए ।
उनले प्रतिनिधिसभामा रिक्त रहेका पदहरुमा उपनिर्वाचन गर्नेबारे पनि छलफल भएको बताए ।
यस्तै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा विभिन्न ३ एजेण्डामा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको बताए ।

साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

बैठकमा एमसीसीलाई सभामुखले संसदमा अड्काउने काम गरेको प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका थिए । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अड्काएर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।

बैठकपछि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी काँग्रेस सरकारकै पालामा आएकाले सो विषयलाई अड्काएर राख्न नहुने धारणा आफूहरुले राखेको बताए ।

यस्तै ज्ञवालीले पनि एमसीसीसम्बन्धी विधेयक सभामुखले अड्काउन नमिल्ने भएकाले संसदले स्वीकृत अस्वीकृत जे गरेपनि त्यसलाई प्रक्रियामा भने लगिनुपर्नेमा जोड दिए ।

यसैगरी बैठकमा कोरोना नियन्त्रणको सवालमा सरकारले चाल्ने कदममा आफूहरुको साथ रहने धारणा दलहरुले राखेका थिए । ‘कोरोना महामारीबारे सबै दल एकमत रहनु भएको छ । यसको रोकथाममा सरकारले सजगता अपनाओस्, प्रभावकारी ढंगले काम गरोस् , आवश्यक पर्छ भने विद्यालय बन्द गरेर भएपनि कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम चालोस् भनेर उहाँहरुले भन्नु भएको छ’, ज्ञवालीले भने ।

यस्तै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पद पूर्ति गर्न उपनिर्वाचन गर्नेबारे पनि सहमति भएको छ ।

निर्वाचन आयोगले तोकेको समयमा चुनावमा सहभागी हुन सकिने धारणा दलहरुको थियो । काँग्रेसले भने भदौमा पार्टीको महाधिवेशन हुने भएकाले त्यसबारे भने विचार गर्न आग्रह गरेको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सरकार राष्ट्रियताको सवालमा स्पष्ट रहेको भन्दै त्यसबारे ढुक्क रहन आग्रह गरेका थिए । यस्तै पछिल्लो समय राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रवृत्ति देखिएको भन्दै त्यसबारे पनि प्रधानमन्त्रीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार