राजनीति
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिको बैठकका लागि दुईवटा कार्यसूची तय गरेको थियो । पहिलो नम्बरमा अनुशासनसम्बन्धी कारवाही बारे र दोस्रो नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध अविश्वास प्रस्ताव सम्बन्धमा थियो ।
बैठकमा सहभागी एक कार्यकारिणी समितिका सदस्यले भने, ‘दुईवटै कार्यसूचीमा छलफल भयो र निर्णय पनि भयो । एउटा निर्णय बाहिर आइसकेको छ र अर्को निर्णय पनि आवश्यक परे बाहिर आउँछ ।’ प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिगमनकारी काम गरेको हुनाले बहिर्गमन आवश्यक रहेको र पार्टीमा सर्वसम्मतिले निर्णय हुन नसके भने बहुमतको निर्णयबाट ओलीलाई हटाउने गरी तयारी रहेको उनकाे भनाइ छ ।
वैशाख १४ गते बसेको जसपा नेपालको पदाधिकारी बैठकमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठकको माग गरेका थिए । तर कोरोनाको कारण देखाउँदै अर्का अध्यक्ष महन्थ ठाकुरले बैठक बसाउन मानेका थिएनन् । पदाधिकारी बैठकबाट महन्थ ठाकुर र राजेन्द्र महतो उठेर गइसकेपछि यादवले कार्यकारिणी समितिको बैठक बोलाएका थिए ।
सो बैठकमा अधिकांश उनकै पक्षका नेताहरुको उपस्थिति थियो भने महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र रमेश यादवको उपस्थिति थियो । ५१ कार्यकारिणी समिति सदस्यमध्ये २६ जनाको उपस्थितिमा ती दुईवटा निर्णयहरु भएको हो । एउटा निर्णय हिजै कार्यान्वयनमा आइसकेको छ भने अर्को निर्णय कार्यान्वयनको अवस्थामा रहेको एक कार्यकारिणी सदस्यले बताए ।
जसपा नेपालको बहुमत सदस्यले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने भनि निर्णय गरेको जानकारी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि गराइसकेको छ । काँग्रेसले अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढाए जसपा नेपालले पुनः कार्यकारिणी समितिको बैठक बोलाएर सर्वसम्मतिको लागि प्रयास गर्ने सर्वसम्मतिले नभए बहुमतबाट भएको निर्णयका आधारमा हस्ताक्षरको प्रकृया अगाडि बढाउने ती नेताले बताए ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न जसपा नेपालका १८ जना सांसद तयार भएका छन् । उपेन्द्र यादव पक्षका एक नेताले भने, ‘ओलीको प्रतिगामी कदम विरुद्ध जसपा नेपालका बहुमत सांसद तयारी अवस्थामा छन्, पार्टीले निर्णय गर्ने वित्तिकै हस्ताक्षर गर्नेछन् ।’ जसपा नेपालमा पूर्वसमाजवादी पार्टीका १७ र पूर्व राजपाका १७ गरी ३४ सांसद छन् । त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेको ३२ सांसदमा १८ जना उपेन्द्र यादवको पक्षमा रहेको ती नेताले दावी गरेको छ । स्रोतका अनुसार उपेन्द्र यादवले १८ जनासँग हस्ताक्षर गराएर पनि राखिसकेका छन् । यी हुन ओली बिरुद्ध अविस्वासकाे प्रस्तावमा हस्ताक्षर गर्ने सजपाकाका सांसदहरु उपेन्द्र यादव
बाबुराम भट्टराई
राजेन्द्रप्रसाद श्रेष्ठ
विमल प्रसाद श्रीवास्तव
महेन्द्र राय यादव
मोहम्मद इस्तियाक राइ
डा.सुरेन्द्रकुमार यादव
डा.सुर्यनारायण यादव
लीला देवी सिटौला
प्रदीप यादव
प्रमोद साह
रामबाबु कुमार यादव
रेणु कुमारी यादव
रेनुका गुरुङ्ग
रुही नाझ
उमाशंकर अरगरिया
राम सहाय यादव
कालु देवी विश्वकर्मा