logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवाद बाहेक अर्को कुनै विकल्प छैन् : विप्लव


  • राजनीति
  • शनिबार, बैशाख १८ २०७८

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १३२ औँ श्रमिक दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै श्रमिक वर्गको संसारलाई कसैले रोक्न नसक्ने विचार उल्लेख गर्नु भएको छ । महासचिव विप्लवले “मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन ।” साथै उहाँले विज्ञप्तिमा “जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्ने” विचार व्यक्त गर्नु भएको छ । उहाँले वक्तव्यमा भन्नु भएको छ, ‘श्रमिकहरू केवल उत्पादनका औजार मात्रै होइनन् समृद्धिका स्रोत हुन् ।” १३२ औँ श्रमिक दिवसको सन्दर्भमा महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज आफ्नो अमूल्य श्रमद्वारा संसारलाई आधुनिक सभ्यता प्रदान गर्ने श्रमिक वर्गको गौरवपूर्ण श्रमिक दिवस १ मई हो । सर्वप्रथम यस सुखद अवसरमा संसारभरका श्रमिक वर्गप्रति हार्दिक शुभकामना प्रकट गर्दछौँ । श्रमिक वर्गको सारा उत्पादनलाई राज्यको बल प्रयोग गरेर आफ्नो खल्तीमा भर्ने पुँजीवादी लुटका विरुद्ध बलिदानीपूर्ण विद्रोह गरेर मात्र आजका श्रमिकहरूले मानवजीवन जिउने अवसर प्राप्त गरेका हुन् । परन्तु आज पनि संसारमा विशेषगरी नेपालजस्ता देशमा श्रमिक वर्गको जीवन आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता समस्याहरूको चाङभित्र छट्पटाइरहेको छ । एकाधिकारवादी निगम पुँजीवादी एवम् दलाल पुँजीवादीहरूले असीमित शोषण गरिरहेका छन् ।
उन्नत मानवजीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार हुन् । श्रमिकहरू केवल उत्पादनका औजार होइनन्, समृद्धिका स्रोत हुन् । जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्दछ । नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको छ । यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको छ तर यसले आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौँ जालझेल गर्दैछ । नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ– आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ । विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्छ– मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प छैन । नेपालमा यसको उचित परिस्थिति बनेको छ । सारा मजदुर किसान एवम् श्रमिक साथीहरू आउनुस्, राष्ट्र परिवर्तन गर्ने यो ऐतिहासिक जिम्मेवारी बहन गर्न क्रान्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भीकतपूर्वक अगाडि बढौँ । श्रमिक वर्गको संसारलाई कसैले रोक्न सक्नेछैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार