राजनीति
सत्तारूढ दल नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ।
आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको प्रदेशसभा सदस्य लीला गिरीले जानकारी दिए ।
पोखरेलले आजै मुख्यमन्त्रीको सपथ लिन सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।
संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन पूर्वनिर्धारित समयमै आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । लुम्बिनी प्रदेश सचिव दुर्भककुमार पुन मगरले मुख्यमन्त्री राजीनामा दिए पनि बैठक बस्ने तर अविश्वासको प्रस्तावको विषय चाहिँ टुङ्गिएको बताए । उनले आज प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको राजीनामा पत्र सुनाउने कार्यसूची रहेको बताए ।
यस अघि मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची रहेको थियो । वैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रदेश सभाको विशेष अधिवेशन बोलाउन उनीहरुले समावेदन गरेका थिए । तर आज मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि राजनीतिले अर्को मोड लिएको हो ।
आजै एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्व बहुमतको नयाँ सरकार बनाउने निर्णय गरेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताएका छन् । उनले संविधानको धारा १६८ को १ अनुसार बहुमतको सरकार गठन गर्नका लागि राजीनामा गरेका थिए ।