राजनीति
नेकपा एमालेका नेता घनश्याम भुसालले शुक्रबार हेरफेर भएको मन्त्रिमण्डल भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नेपाल आएपछि बदलिएको कोर्षको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् ।
केपी ओलीले छानेका मन्त्रीहरु बदलिएको राजनीतिक कोर्षको परिणति भएको भुसालले बताए । उनले भने, ‘मैले यो हेरफेरलाई सामन्त गोयल नेपाल आएपछि बदलिएको राजनीतिक कोर्षको कार्यान्न्वयनका रुपमा हेरेको छु ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरिनुलाई उनले सामन्त गोयलको अनुकुल हुने गरी गरिएको हेरफेरका रुपमा चित्रित गर्ने प्रयास गरे । व्यक्तिहरुको नाम नलिइकन भुसालले रातोपाटीसँग भने,‘यो त्यही कोर्षको अनुकुल (कम्फर्टेबल) सरकार हो ।’
अन्धराष्ट्रवाद र क्षेत्रीयतावादको घाँटी जोडियो : बाबुराम
एमाले नेता घनश्याम भुसालले जस्तै पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा. बाबुराम भट्टराईले पनि नयाँ मन्त्रिपरिषदमा संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी जोडिनु अनोठो भएको बताएका छन् ।
सामाजिक सञ्जालमा डा. भट्टराईले यस्तो भनेका छन्–
‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाउँ ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ ? दुबैको मुकुण्डो उत्रिएन त ?’