राजनीति
भक्तपुरमा ११ वर्षे बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्ने दुई व्यक्तिलाई प्रहरीले ‘इन्काउन्टर’ गरेको विषय अहिले सामाजिक मिडियामा चर्चामा छ । हत्यारा र अपराधीलाई प्रहरीले यसैगरी गोली ठोकेर मारिदिनुपर्छ भन्ने मत एकातिर बलियो देखिन्छ भने अर्कोतर्फ प्रहरीले नियन्त्रणमा लिइसकेको व्यक्तिलाई ‘फेक इन्काउन्टर’ खडा गरेर मारिनु गलत कार्य हो भन्दै प्रहरीमाथि प्रश्न उठाउने गरेकाछन ।
यसै सन्दर्भमा बालक अपहरण प्रकरण र घ्याम्पेडाँडा नजिकै भएको ‘इन्काउन्टर’लाई कसरी हेर्ने भन्नेबारे अगुवा मानवअधिकारकर्मी चरण प्रसाईंसँग सोधेको छ ।
कुराकानीका क्रममा प्रसाईले यो घटना ‘फेक इन्काउन्टर’ एवं गैर न्यायिक हत्या भएको बताए । यस्तो कार्यमा संलग्न प्रहरीहरुमाथि सरकारले छानविन गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने उनले बताए ।
साथै यो घटनाबारे गम्भीररुपमा ध्यान दिन राष्ट्रिय मानवअधिकार आयोगलाई प्रसाईले सुझाव दिए ।
मानवअधिकार अभियन्ता प्रसाईसँग गरिएको संक्षिप्त कुराकानीः
भक्तपुरमा अपहरणकारीहरुबाट एक बालकको नृशंस हत्या भयो । हत्यामा संलग्न भनिएका दुई अपहरणकारीलाई प्रहरीले ठाउँको ठाउँ गोली हानेर मार्यो । मानवअधिकारको दृष्टिकोणले यो घटनालाई कसरी लिने ?
यो एकदमै गम्भीर घटना हो । अपहरण गरेर वालकको हत्या गर्नु एकदमै गलत कार्य हो । तर, गलत कार्य गर्यो भन्दैमा जसरी अहिले इन्काउण्टर भनेर मान्छेहरुलाई घरबाट उठाएर लिएर गएर जंगलमा चप्पल लगाएको मान्छेहरुलाई गोली हानी हत्या गरिएको छ, त्यो त फेक इन्काउन्टर देखिन्छ ।
त्यो फेक इन्काउन्टरलाई कुनै पनि हालतमा मानवअधिकारले स्वीकार्दै गर्दैन र त्यस्ता व्यक्तिहरुउपर छानविन गरेर दोषीउपर कारवाही हुनैपर्छ । मेरो विचारमा यसलाई राष्ट्रिय मानवअधिकार आयोगले पनि गम्भीररुपमा लिनेछ र हामी मानवअधिकारकर्मीहरुले पनि गम्भीर रुपमा लिएका छौं ।
इन्काउन्टरमा संलग्न प्रहरीमाथि छानविन गरी कारवाही हुनुपर्छ भन्ने तपाईको आशय हो ?
एकदमै । यस्तो कार्यलाई प्रश्रय दिने र दोषीहरुमाथि कारवाही नगर्ने हो भने यस्ता घटनाहरु दोहोरिन्छन् र भोलि जो पनि इन्काउन्टरका नाममा मारिन सक्छ । निर्दोष मान्छेहरु र कुनै पनि बाहानामा राजनीतिक व्यक्तिहरु पनि पर्न सक्छन् । त्यसैले हामीले यस्ता घटनाहरुलाई समयमै निरुत्साहित गर्न र नियन्त्रण गर्न सकेनौं भने यसले लोकतान्त्रिक प्रक्रियाहरुमै असर पर्ने देखिन्छ । यसले प्रत्येक नागरिकलाई नै असर पार्ने देखिन्छ ।
तर, तपाईले यसो भनिरहँदा उता सोसियल मिडियामा चाहिँ कस्ता प्रतिक्रिया आइरहेका छन् भने प्रहरीले अपहरणकारी र हत्यारालाई यसरी गोली टोकेर मार्नु ठीक भएको छ, प्रहरीलाई सलाम छ, अपराधीहरुलाई यसरी नै गोली ठोकेर मार्नुपर्छ…आदि आदि । यसमा चाहिँ एकजना मानवअधिकारकर्मीको नाताले तपाईको प्रतिक्रिया के छ ?
यी प्रतिक्रियाहरु आक्रोशका अभिव्यक्तिहरु हुन् । तर, यिनै आक्रोशका प्रतिक्रियालाई हामीले आधार बनाएर ठाउँको ठाउँ मानिसहरुलाई मार्नुर् र कानूनी प्रक्रियाअन्तरगत उसलाई बचावको मौका नदिनु कानूनसम्मत पनि हुँदैन र मानवअधिकारसंगत पनि हुँदैन ।
नेपालको संविधानमा कसैलाई मुत्युदण्ड दिने व्यवस्था पनि छैन । र, यो गैरन्यायिक हत्या त झन हुनु हुँदैहुँदैन ।
भनेपछि, भक्तपुरमा प्रहरीले अपहरकारीमाथि गोली प्रहार गरेको घटना ‘गैरन्यायिक हत्या’ हो ?
एकदमै । यसमा संलग्नहरुमाथि कारवाही गर्नुपर्छ । कडाभन्दा कडा कारवाही हुनुपर्छ । यस्ता घटनाहरु नदोहोरिने सुनिश्चितता सरकारले गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
पछिल्लो समय देशमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढिरहेका छन् । तर, यसमा मानव अधिकारवादी संघसंस्थाहरुबाट खासै चासो दिएको पाइँदैन । विज्ञप्तिहरु पनि आउँदैनन् । नेपालको मानवअधिकारवादी आन्दोलन सुस्ताएको हो ?
गर्नेले गरिराखेका छन् । राष्ट्रिय मानवअधिकार आयोग पनि छ, आधिकारिक रुपमा उसले गर्ने कामहरु पनि गरि नै रहन्छ । रिसर्च गर्ने संस्थाहरु पनि छन्, तिनीहरुले पनि काम गरिराखेका होलान् । सुस्ताएको भन्नाले बाहिर सडकमा आएनन्, विज्ञप्तिहरु आएनन् भन्ने जाहाँसम्म कुरा छ यसमा चाहिँ अलिकति कमी आएकै हो ।
कि नेपाली समाजमा अपराधका घटनाहरु नै कम भएर यस्तो भएको पो हो कि ? मानवअधिकारको अवस्था राम्रो भएको हो कि ?
हैन । मानवअधिकार उल्लंघनका घटनाहरु एकदमै बढेका छन् । सामाजिक रुपमा विकृतिहरु, अपहरण, बलात्कारका घटनाहरु आइराखेका छन् । यसमा सरकार असक्षम भएकै देखिन्छ । यस्ता घटनाहरु हुन नदिनुपर्ने हो । घटनाहरु भइसकेपछि पनि दोषीहरुलाई तत्कालै कानूनी दायरामा ल्याउनुपर्ने हो । तर, यस्तो भइराखेको छैन । त्यसैले नागरिकहरु आफैं जागरुक भएर दबाव दिनुपर्ने अवस्था आएको छ । यसमा सरकार अलि बढी सम्वेदनशील नभएको हो कि भन्नेचाहिँ सत्य हो ।
अन्लाईन खबर बाट