logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कर्णालीमा फुट्याे एमाले, केन्द्रकै सिकाे


  • राजनीति
  • मंगलबार, असार १ २०७८

केन्द्रमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतबाट असफल बनाउने २७ जना संघीय सांसदकै फर्मुला अपनाउँदै कर्णाली प्रदेशमा माधव नेपाल पक्षका तीन सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन् ।

कर्णाली सरकारको मन्त्रीसमेत रहेका नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापा आफैं सहभागी सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा उभिने संसदीय दलको निर्णयप्रति असन्तुष्ट हुँदै प्रदेशसभा बैठकमा अनुपस्थित हुनुभएको हो । बैठकले सरकारको नीति तथा कार्यक्रम भने बहुमतले पारित गरेको छ । अब सरकारलाई आगामी बर्षको बजेट ल्याउन बाटो समेत खुलेको छ ।

यसअघि एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको विपक्षमा उभिन सांसदहरुलाई ह्वीप जारी गरेको थियो । दलको बैठकमा समेत नजानुभएका बुढा,शाही र थापा प्रदेशसभा बैठकमा पनि नजानुभएको हो ।

उहाँहरु तीन जनासंगै फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएका प्रकाश ज्वाला भने दलको बैठकमा सहभागी हुनुभएको थियो । यसअघि फ्लोर क्रस गरेको भन्दै अध्यक्ष ओलीले चारै जनालाई पार्टीबाट निश्कासन गर्नुभएको थियो। तर,ओलीको निर्णयलाई अवैध ठहर गर्दै सर्वोच्च अदालतले चारै जनालाई पद बहाली गरेसंगै कर्णालीमा एमाले विवाद बल्झिन थालेको छ ।

नीति तथा कार्यक्रम र बजेटको विपक्षमा जाँदैनौं

एमाले संसदीय दलका नेता यमलाल कंडेलले सत्ता पक्षसँग बहुमत नभएकाले बजेट पास नहुने नदिने बताइसक्नुभएको छ । चार जना सांसदलाई अदालतले पुनर्बहाली गरेपछि एमालेको एकल बहुमत पुग्ने कंडेलको दाबी छ । तर नेपाल पक्षका सांसद भने एमालेको केन्द्रीय राजनीति नमिल्दासम्म सरकारका विरुध्द नजाने अडानमा छन् ।

उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री कुर्मराज शाहीले पार्टी विवाद समाधान नहुँदासम्म आफूहरु सरकारको पक्षमा दृढताका साथ् उभिने बताउनुभयो । ‘हामी पार्टीप्रति प्रतिवद्ध छौँ,पार्टीको निर्णय मान्छौँ । तर वैधानिकता गुमाएको पार्टीको हैन बैध पार्टीको निर्णय मान्छौँ ‘,उहाँले भन्नुभयो ।

आफैँ सरकारको मन्त्री भएर नीति तथा कार्यक्रम र बजेटको विरुध्द जान नैतिक रुपमा अप्ठेरो पर्ने उहाँले बताउनुभयो । नीति तथा कार्यक्रम पास गर्नकै लागि आफूहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएको उहाँको भनाइ छ । ‘हामी आफैंले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा जाने कुरा सोच्न पनि सकिंदैन । नीति कार्यक्रम पास भएको छ,अब बजेटमा जान्छौँ । मतदान हुने अवस्था आए पक्षमा मतदान गर्छौं’,उहाँले भन्नुभयो ।

मन्त्री शाहीले आफूहरु पार्टीको संस्थागत निर्णयको पक्षमा रहेको पनि बताउनुभयो । विवाद मिलेको अवस्थामा पार्टीले निर्णय गरे दुई मीनेट पनि पदमा नरहने उहाँको भनाइ छ ।

‘हामी एमाले हौँ,तर एमाले भनेर कसले चिन्ने ? चिन्ने आधार के ? हामीलाई पार्टीले जीरो बनाएको छ । अदालतको निर्णयले प्राविधिक रुपमा न एमाले बनेका हौँ ! अदालतले केन्द्रीय कमिटीको वैधतामाथि प्रश्न उठाएकाले त्यसको निरुपण नहुँदासम्म कुन कमिटीलाई पार्टी भन्ने ?’उहाँको प्रश्न छ ।

केन्द्रकै सिको

३९ सदस्यीय कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेका २०,माओवादी केन्द्रका १२,नेपाली कांग्रेसका ५ र राप्रपाका एक सांसद छन् । सरकारलाई नीति तथा कार्यक्रम पास गर्न कम्तिमा बहुमत सांसदको साथ चाहिन्थ्यो । प्रदेशसभाको ठूलो तथा प्रमुख प्रतिपक्ष दलले नीति कार्यक्रमका विपक्षमा उभिने निर्णय गर्दै सांसदहरुलाई ह्वीप लगाएपछि सरकारमाथि नैतिक प्रश्न उब्जिएको थियो ।

तर,एमालेको माधव नेपाल पक्षका ३ सांसद प्रदेशसभामा अनुपस्थित भएपछि नीति कार्यक्रम पास गर्न बहुमत पुगेको हो । मन्त्री शाहीले सरकारको पक्षमा बहुमत पुर्याउन सल्लाह गरेरै आफूहरु प्रदेशसभा बैठकमा अनुपस्थित भएको बताउनुभयो ।

एमाले सांसद चन्द्रबहादुर शाही बिरामी भएर उपचारका लागि काठमाडौँ गएकाले चार जना अनुपस्थित हुँदा सरकारको पक्षमा बहुमत पुगेको उहाँको आंकलन छ । यद्यपि मतदानमा नगएकाले ठ्याक्कै भन्ने अवस्था नरहेको उहाँले बताउनुभयो।

यसअघि वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतबाट असफल बनाउन माधव नेपाल पक्षका २७ सांसद प्रतिनिधिसभामा अनुपस्थित भएका थिए । जसका कारण प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल हुनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार