राजनीति
जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले जानकारी दिए ।
सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि आधिकारिकताका लागि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।
साथै लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी बालुवा निकासी गर्ने उल्लेख गरेको विषयलाई फिर्ता लिन पनि आग्रह गरेको छ ।
साथै बाढी पीडितहरुलाई उद्धार गर्न तथा राहत प्रदान गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा पार्टीका आन्तरिक विवाद, निर्वाचन आयोगको निर्णय, देशको समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएकाे बताइएकाे छ ।
पार्टीमा आन्तरिक विवादका कारण अर्का अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक नरहेको जानकारी हिजो विज्ञप्ति जारी गरेर बताएका थिए ।
यादव पक्षको कार्यकारिणी समितिको बैठकले गर्ने कुनै पनि निर्णय मान्य नहुने विज्ञप्तिमा उल्लेख गरेका थिए र सो बैठकको बारेमा निर्वाचन आयोगलाई पनि जानकारी गराएका थिए ।