राजनीति
सत्तारूढ दल एमाले विवाद समाधानकाे नजिक पुग्दा माओवादी छाेडेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल सहित २३ जना माओवादी नेताहरु केन्द्रीय कमिटी मा रहने वा नरहने अन्याैलता बढेकाे छ ।
एमालेमा नवौं महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्यहरुलाई मान्ने कि नमान्ने भन्ने विवाद सतहमा देखिएको छ । तर, मनोनितलाई किन मान्ने वा नमान्ने भन्ने विवादका तार्किक आधारहरु दुबै पक्षले दिन सकेका छैनन् ।
एक चरणको मनोनयनलाई मान्ने र अर्को चरणलाई नमान्ने हो भने फरक मापदण्डको नजिर बस्न सक्ने ओली पक्षका नेता बताउँछन् । यो अवस्थामा तीनै चरणका मनोनयनलाई अस्वीकार गरेर महाधिवेनकालीन १८१ सदस्यीय संरचनामै फर्कनुपर्ने हुन जान्छ ।
चुनावको मुखमा ०७३ फागुन २० मा गरिएको २१ जनाको मनोनयनलाई माधव नेपाल समूहले त्यसबेला स्वीकार गरिसकेकै थियो । ०७५ जेठ ३ मा पार्टी एकताको मुखमा गरिएको ४१ जनाको मनोनयन चाहिँ हुलमुलमा गरिएको र ओलीले आफूखुशी नाम थपेर २४१ जना पुर्याएको हुनाले त्यसलाई मान्न नसकिने माधव पक्षका नेताहरुको तर्क छ ।
त्यस्तै, गत ०७७ फागुन २८ मा आफ्नो गुटको मात्रै बैठक राखेर बादलसहितका २३ जनालाई मनोनयन गरिएको हुनाले पछिल्ला दुईवटा मनोनयनलाई मान्न नसकिने र एमालेको केन्द्रीय कमिटी २०२ सदस्यीय हुनुपर्ने माधव–खनाल समूहका नेताहरु बताउँछन् । केपी ओली समूहका नेताहरु चाहिँ फागुन २८ को बादलको मनोनयन वा ०७५ जेठ २ को मनोनयनलाई नमान्ने हो भने यही नजिरका आधारमा ०७३ फागुन २० को रघुवीर महासेठ लगायतको मनोनयन पनि अस्वीकार्य हुने बताउँछन् ।
एमाले माधव नेपाल पक्षका नेता जगन्नाथ खतिवडा निर्वाचन आयोगमा दर्ता रहेको केन्द्रीय कमिटीलाई आधार मान्नुपर्ने बताउँछन् । आयोगमा २०२ जना केन्द्रीय सदस्यको नामावली दर्ता रहेको खतिवडाले बताए ।
‘निर्वाचन आयोगमा २०२ सदस्यीय केन्द्रीय कमिटी दर्ता छ, त्यसैलाई आधार मान्नुपर्छ,’ खतिवडा भन्छन्, ‘एकताको प्रयोजनका लागि पछि थपिएका सदस्यहरुको नाम निर्वाचन आयोगमा दर्ता छैन ।’
नवौं महाधिवेशनबाट पारित एमालेको विधानले निर्वाचित केन्द्रीय कमिटीको संख्यामा १० प्रतिशतभन्दा नबढ्ने गरी मनोनयन गर्न सकिने सीमा तोकेको छ ।
रघुवीर महासेठसहित २१ जनाको मनोनयन निर्वाचन आयोगमा दर्ता भइसकेकाले ०७३ फागुन २० मा गरिएको मनोनयनले भने मान्यता पाउने खतिवडाको भनाइ छ । खतिवडाले भनेअनुसार जेठ २ मा फर्कने हो भने महेश बस्नेत, गोकुल बास्कोटा, खगराज अधिकारीसमेत ४१ जना आउट हुन्छन् । त्यस्तै बादल लगायतको २३ जनाको मनोनित टोली पनि आउट हुन्छ ।
एमालेभित्र जेठ २ भन्दा अगाडिको संरचनामा फर्किएको खण्डमा एकता सम्भव छ भन्ने तर्क–वितर्क चलिरहेका बेला केपी ओली पक्षका नेताहरुको बुझाइचाहिँ माधव नेपालले पार्टी फुटाउनै चाहेको भन्ने देखिन्छ । केपी ओली पक्षका नेता कर्ण थापा भन्छन्, ‘अहिले नेकपा एमालेभित्र एउटै मात्रै चुरो छ, त्यो चुरो भनेको माधव नेपालहरू यो पार्टीबाट बढीभन्दा बढी मान्छेहरु लिएर जान चाहनुहुन्छ । हामी माधव नेपालहरुलाई सके सच्चिएर यहीँभित्र बस्नुहोस्, यदि उहाँ जानुभयो भने उहाँको कुनै बहकावमा अरु मान्छेहरुलाई जान नदिऔं, हामी पार्टीभित्रै रोकौं । संघर्षको चुरो कुरो यो हो ।’