राजनीति
नेकपा माओवादी केन्द्रले पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिलाई कारबाही गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकमार्फत माओवादी छाडी एमाले प्रवेश गरेका १४ जनालाई कारबाही गरेको हो।
सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन्। यस्तै कैलालीबाट चार जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरी र ओखलढुंगाबाट एक/एक जना कारबाहीमा परेका छन्। माओवादी केन्द्रले केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउने भएको छ।
को-को परे कारबाहीमा ?
माओवादी छाडेर एमालेमा गएका १४ जना जनप्रतिनिधि मध्ये ६ जना रौतहडका रहेका छन्। जसमा रिनाकुमार साह (प्रमुख- मौलापुर नगरपालिका), सियाराम कुशवाहा (प्रमुख- कटहरिया नगरपालिका), परनिया देवी (उपप्रमुख- देवाही गोनाही नगरपालिका), गौरीशंकर जयसवाल (उपप्रमुख- मौलापुर नरपालिका), कान्ती देवी (उपप्रमुख- फतुवाविजयपुर नगरपालिका), सीमलाल साह (उपप्रमुख- माधवनारायण नगरपालिका) र गीतादेवी शाह (उपप्रमुख- युमनामाई गाउँपालिका) रहेका छन्।
त्यस्तै माओवादी केन्द्र छोड्ने ४ जना कैलालीका रहेका छन्। जसमा छाया देवकोटा (उपप्रमुख- भजनी नगरपालिका), भागिरथी विष्ट (वडाध्यक्ष- गौरीगंगा नगरपालिका ४), शर्मानन्द भट्ट (वडाध्यक्ष- गोदावरी नगरपालिका १) र पुरन विसी (वडाध्यक्ष- बर्दगोरिया नगरपालिका ४) रहेका छन्। सिरहको लहान नगरपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक र ओखलढुंगा चम्पादेवी गाउँपालिका १ का वडाध्यक्ष सुरेश कुमार थापा पनि कारबाहीमा परेका छन्।