राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता पक्राउ परेको विरोधमा उक्त पार्टीले मंगलबार गरेको बन्दको प्रभाव बिहानै बाट देखिएको छ।
काठमाडौ
राजधानी छिर्ने मुख्य थानकोट नाकामा बम भेटिएको छ । बल्खु चोकमा पनि बम भेटिएको र डिष्पोजल टोली पुगेको खबर छ ।राजधानी काठमाडौँमा सवारी साधन फाट्टफुट्ट चलेको छ । विभिन्न चोकहरुमा शंकास्पद बस्तुहरु भेटिएर अवरुद्ध भएको खबर छ । निजी तथा सरकारी विद्यालय बन्द भएका छन् ।
कास्की
कास्कीको मुख्य बजार पोखरामा बन्दको प्रभाव परेको छ खास सवारी साधन चलेका छैनन् । आज गुरुङ जातिको पर्व परेकोले पर्व मानाउन दिने तर सवारी नचलाउन आग्रह गरेको छ ।
लमजुङ
लमजुङमा बन्दको प्रभाव परेको छ। बन्दका कारण यहाँ छोटो तथा लामो दूरीका सवारी साधन नचलेको यहाँ बजार बसल पनि बन्द छन्।
कपिलवस्तु
कपिलवस्तुका शिवराज नगरपालिका, विजयनगर गाउँपालिकामा बन्दको पूर्ण प्रभाव परे पनि अन्य ८ स्थानीय तहमा बन्दको आंशिक प्रभाव परेको छ। बन्दका कारण लामो तथा छोटो दूरीका सवारी, उद्योगभन्दा, शिक्षण संस्था, कलकारखाना चलेका छैनन्। बन्दकर्ता सडकमा नउत्रिए पनि बन्दका प्रभाव यहाँ देखिएको हो।
बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुको वाणगंगा ११ देउवापारमा सोमबार राती विष्फोट गराईएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। बम विष्फोट गराएको ठूलै आवाज सुनिए पनि कुनै क्षति नभएको प्रहरीको भनाई छ।
जिल्लाका मुख्य बजार ४ नं. जीतपुर, इमिलिया, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, महाराजगञ्ज, कृष्णनगर लगायतका स्थानमा बन्दको प्रभाव देखिएको छ। उद्यपि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
सिरहा
नेपाल बन्दको प्रभाव सिरहामा पूर्वपश्चिम राजमार्ग र अन्य सडकमा सवारी साधन अन्य दिनझैं आज पनि गुडिरहेका छन्। बजार र विद्यालय समेत खुलेका छन्। उद्योग कलकारखाना समेत संचालनमा रहेका छन्। सडकमा कतै बन्दकर्ता पनि देखिएका छैनन्।
अन्य दिनको तुलनामा आज राजमार्ग क्षेत्रमा बढी सुरक्षाकर्मी परिचालन भएका छन्।
ललितपुर
ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ। लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा राखिएका शंकास्पद बस्तु बम नभएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।
तीनवटै ठाउँमा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको डिएसपी चन्दको भनाई छ। यी तीनै ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोलीले नक्कली बम राखेको पत्तो लगाएको थियो।
नवलपरासी
पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकमा मंगलबार बिहानै आगजनी गरिएको छ। कपिलबस्तुको चनौटाबाट हेटौंडातर्फ जाने क्रममा भृकुटीचोकमा ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
बाजुरा
बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लास्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ। झोलामा बम भएको हुन सक्ने स्थानीयले बताएपछि त्यहाँ सुरक्षाकर्मीको टोली पुगिसकेको छ ।
भक्तपुर
सूर्यविनायक र लोकन्थलीमा मंगलबार बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले दुवै ठाउँमा भेटिएको बम केहिबेर अघि निष्क्रिय पारेको हो।
राससका अनुसार सूर्यविनायक नगरपालिका–६ आदर्श बसपार्क नजिक र मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित सडक छेउमा झोलामा राखेको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो।
दुवै ठाउँको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताए। उनले शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी खटाइएको बताए।
नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज बन्दको आह्वान गरेको छ।
अर्घाखाँची
नेपाल बन्दको कारण विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ। विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन नचलेको खबर प्राप्त भएको छ।
अर्घाखाँचीमा बजार, उद्योग धन्दा , तथा शिक्षण सस्था पुर्ण रुपमा ठप्प भएका छन्। बजारमा बन्दकर्ता नदेखिए पनि बन्दको प्रभाव पूर्णरुपमा परेको छ। विप्लवले आफ्ना प्रवक्ता प्रकाण्ड लगायतका नेताहरुलाई विनाकारण प्रकाउ गरेको भन्दै नेपाल बन्दको आब्हान गरेको हो।
गुल्मी
गुल्मी सदरमुकाम तम्घासमा नेकपाका कार्यकर्ताहरुले सोमबार राति मसाल जुलुस निकालेका थिए। सयौँ कार्यकर्ताहरुसहित निकालिएको मसाल जुलुसका क्रममा प्रहरीले धरपकड गरेन।
नेकपाका कार्यकर्ताहरुले जिल्लाका धार्कोट गाउँपालिका, जैसीथोक गाउँपालिका, सत्यवती गाउँपालिका लगायतमा पनि मंगलबार राति मसाल जुलुस निकालेका थिए। विप्लवका कार्यकर्ता सक्रिय भएपछि त्यहाँ पनि बन्दको असर परेको छ।