राजनीति
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिएसँगै देशको राजनीतिक फेरि तातिएको छ। असार २८ गते विघटनसम्बन्धी रिटको अर्को पेशी तोकिएको छ। विघटनसम्बन्धी रिटको फैसला आउनुअघि नै नेकपा एमाले एकताका लागि कसरत भइरहेको छ। एकता कायम गर्न एमाले विवाद समाधान निम्ति गठित कार्यदल ब्युँताइएको छ। सोमबार साँझ एक चरण छलफलपछि आज पुनः कार्यदलको बैठक बसिरहेको छ।
सिंहदरबारमा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बसिरहदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता जारी छ। नेता नेपाललाई भेट्न दाहाल उनकै निवास कोटेश्वर पुगेका हुन्। माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका दाहाल त्यहाँबाट फर्केर सिधैँ कोटेश्वर पुगेका हुन्।
दुवै नेताबीच अहिले छलफल जारी रहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार नेताहरूबीच पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल भइरहेको छ। एमाले एकताका लागि गठित कार्यदल ब्युँतिएर छलफल सकारात्मक दिशातिर उन्मुख भएको नेताहरुले बताइरहेका बेला दाहाल-नेपालबीचको भेटघाटलाई चासोका साथ हेरिएको छ।