राजनीति
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कसैले साथ नदिए ‘आफू एक्लै भए पनि अघि बढ्ने’ चेतावनी दिएका छन् ।
नेकपा एमाले स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदिप ज्ञवालीले एक्लै भए पनि अघि बढ्ने तयारीमा नेता नेपाल रहेको र त्यो सूचना प्राप्त गरेको बताए ।
नेता नेपाल समूहमा रहेका २३ सांसद सबै पक्षमा उभिने सम्भावना कम रहेको एक सांसदले जानकारी दिए ।
“हामी २३ जना एकैठाउँमा नरहन पनि सक्छौँ तर केपी ओलीसँग रहेका केही सांसदले मत दिने तयारी गर्नुभएको छ,” नेता नेपाल निकट ती सांसदले भने ।
नेता नेपाललाई भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन नहुने अडान राखेको एक नेताले जानकारी दिए ।
तर नेता नेपाल निकट सांसद मेटमणि चौधरीका अनुसार आफूहरु प्रस्तावको पक्षमा उभिने निर्णय भएको छ ।
नेतृ रामकुमारी झाँक्रीले पनि सके एमालेले नै निर्णय गरेर नभए पनि आफूहरु २३ जना प्रस्तावको पक्षमा उभिने बताइन् ।
“हामीले ७६(५) को प्रमको लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो । सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिँदैन भने सांसदहलाई संसदको पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदनकर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ,” झाँक्रीले भनेकी छन् ।
नेता नेपालसँग झाँक्री, मेटमणि चौधरी, सरला यादव, दीपकप्रकाश भट्ट,मुकुन्द न्यौपाने, कलिला खान, विरोध खतिवडा, झपट रावललगायतले साथ दिने तयारी गरेका छन् ।
त्यसबाहेक ओली समूहमा रहेका केही सांसदले साथ दिने देखिएको एक सांसदको दाबी छ ।