राजनीति
सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बिहान साढे ८ बजेपछि बालुवाटारमा सुरु हुने गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्ने पक्षमा आफू नरहेकोले मन्त्री बन्नेको नाम दिन गठबन्धनका दलहरुसँग आग्रह गरिसकेका छन् ।
गठबन्धनमा रहेकोमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ भने नेकपा एमालेको माधव नेपाल पक्षको सहभागिता पनि निश्चित भएको छैन । आज मन्त्रालय बाँडफाँटको विषय टुंगिए साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।
गठबन्धनमा सहभागि नेपाली कांग्रेसबाट हालसम्म प्रधानमन्त्री बाहेक २ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी भइसकेका छन् ।
कांग्रेसका बालकृष्ण खाण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा छन् । माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भूसाल ऊर्जामन्त्रीको जिम्मेवारीमा छन् ।
जसपाले मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको छ ।
कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये दुई जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।
यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एकलाई मन्त्री बनाउनै पर्ने दबाब देउवालाई छ ।
गठबन्धन सरकार भएकाले देउवालाई सन्तुलन मिलाएर मन्त्री चयन गर्न यसपटक निक्कै सकस पर्ने देखिएको छ । प्रधानमन्त्री देउवाले नजिकिँदो महाधिवेशनलाई लक्षित गर्दै यसपटक मन्त्री चयनलाई प्राथमिकतामा लिएको बताइएको छ । देउवाले गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई ल्याइसकेका छन् ।
त्यसै गरी, माओवादी केन्द्रले पनि मन्त्री छनोटको कामलाई तीव्रता दिएको छ । मन्त्री छनोट गर्न निकै दबाब परेको बताउँदै आएका पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक÷एक जना मन्त्री बनाउने नीति लिएका छन् ।
कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ ।
जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।
यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ ।
महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ । देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।