राजनीति
एमाले सांसद महेशले कांग्रेस नेतृत्वको सरकारले स्वास्थ्य माफियालाई संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद बस्नेतले वर्तमान सरकार चल्नेजस्तो नदेखिएको पनि बताए ।
उनले अदालतको परमादेशबाट बनेको सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै आलाेचना गरे । उनले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जय सिंह धामीले अझै न्याय पाउन नसकेको र सरकारले न्यायका लागि बोल्न नसकेकाे टिप्पणी गरे ।
सरकारको आलोचना गर्दै उनले ‘जनताहरू केपी बा आई लभ यू’ भन्न थालेकोसमेत जिकिर गरे । निर्धारित समय सकिएपछि सम्बोधन नसकिँदै उनको माइक काटिएको थियो ।
उनले संसद्मा गरेको सम्बोधन– “एसएसबीले तुइन काटे, जयसिंह धामी महाकालीमा डुबे । सरकार भन्छ मौन बस, समाचार नबनाऊ । प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप । कांग्रेसको मेयरको घरमा खोप, पसभापतिको घरमा खोप, होटलमा सत्ता पक्षको कार्यकर्तालाई खोपै खोप । जनता दिनभरी लाइनमा खोप न सोप । बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ । दक्ष सचिव फेर्छ । वीर हस्पिटलको एमडी फेर्छ । स्वास्थ्य माफियालाई संरक्षण गर्छ । देशभर बाढी पीडित जनता राहत पाइनँ भनेर कराउँदछन् । कांग्रेसका विपक्षीहरु मन्त्री नपाए सरकारमा जान्न भन्दैछन् । कांग्रेसका वडा अध्यक्षहरू नगरपालिकाको कार्यालय फोड्दै छन् । माओवादी, जसपा भन्दैछन्, मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए । दिमागमा आतंक ल्याए, भुकम्प ल्याए । परमादेशबाट बनेको सरकार तीन हप्ता भएछ मन्त्रीमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम आएन । प्रधानमन्त्री अब बेरोजगार भएका त्रिपाठीहरूलाई अदालत पठाउनुस् । फलानो पार्टीका फलानो मन्त्रीलाई मन्त्री बनाइँपाउँ भनेर परमादेश जारी गराउनुस् । नत्र जनादेश विनको सरकार चल्ला जस्तो देखिएन । अब जनता भन्दैछन्, केपी बा आइ लभ यू ।”