logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

फुटतिर माधव समूह, रावलसहित ३ स्थायी सदस्य बैठकमा गएनन्


  • राजनीति
  • बिहिबार, साउन २१ २०७८

नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् ।

नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा जस्तो देखिएको बेला आजको बैठकमा अनुपस्थित भएका हुन् । कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको दावी गरिएको छ । माधव नेपालको सचिवालयले पाण्डेको पीएसओलाई कोरोना संक्रमण भएको र योगेशको पनि आफन्तलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेको दावी गरेको हो ।

​नेपाल समूहका भर पर्दा नेता मानिने पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि सदन बहिस्कार गरेर हिँडेका थिए भने योगेश भट्टराईले चाहिँ सर्वोच्च अदालतमा सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दिएको निवेदनमा पनि हस्ताक्षर गरेका थिएनन् । भट्टराईले पार्टी एकताका लागि आफू मध्यमार्गी भूमिकामा रहने बताउँदै आएका छन् ।

यस्तै रावलले देउवालाई विश्वासको मत दिने दिन संसदीय राजनीति विकृत भएको भन्दै सांसद पदबाटै राजीनामा दिएर मतदान बहिस्कार गरेका थिए । पछि उनले आफ्नो निर्णय फिर्ता लिएका थिए भने सो क्रममा माधव नेपालले उनकै निवासमा गएर छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार