राजनीति
विवादै विवादको भुमरीमा फसेको दल नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र सम्मानजनक वातावरण नभएसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसमर्पण नगर्ने बताएकी छन् । नेपाली कम्युनिस्ट आन्दोलनको विभाजन, विखण्डन र विसर्जनको जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको प्रष्ट भनाइ रहेको छ ।
“आजको दिनसम्म केपी ओलीको करणी र कथनीमा फरक छ । उहाँलाई विश्वास गर्न सक्ने कुनै आधार छैन । उहाँले अर्काको दल पनि विभाजन गर्न खोज्नुभयो, आफ्नो दल पनि विभाजन गर्ने दुस्प्रयास गर्नुभयो,” नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कु्रा गर्दैै नेतृ झाँक्रीले स्पष्ट शब्दमा भनिन्, “उहाँमा गैरकम्युनिस्ट चरित्र देखिन्छ । उहाँको नेतृत्वमा कम्युनिस्ट आन्दोलनको पुनर्जागरण र पुनर्गठन सम्भव छैन । एकता भइहाल्यो भने पनि पार्टी चल्दैन । उहाँ नसच्चिकन, आजसम्मका राजनीतिक अपराध कबुल नगरेसम्म पार्टी यत्तिकै एकता हुन्न । पार्टी एकता आवश्यकता त हो तर ओलीसँग आत्मसमर्पण गरिँदैन ।”
नेतृ झाँक्रीले ओलीसँग माधवकुमार नेपालले अध्यक्ष पद नमागेको दाबी गरिन् । “अध्यक्ष पद हामीले मागेका छैनौं । नवौं महाधिवेशनबाट पारित विधान एक अध्यक्षात्मक छ । यो त बूढानीलकण्ठमा दुई नेतालाई भेट गराउने बिचौलियाले फैलाएको प्रपोगान्डा हो । वार्ता समितिका कमरेड या हामीले मागेका छैनौं । हामीले त २०७५ जेठ २ गतेअघिको कमिटी, सदस्य, विधान र पद्धति मागेका हौं । दुई अध्यक्ष अराजनीतिक व्यवस्था हो,” उनले भनिन् ।