राजनीति
बहुविवादित बनेको दल नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले आफूहरु नयाँ पार्टी खोल्नेगरि छलफलमा जुटेको र नयाँ निष्कर्षमा पुगेको बताएका छन् ।
विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद चौधरीले आफूहरुले नयाँ पार्टी बनाएपनि कम्युनिष्ट विचारधारा भने नछोड्ने जिकिर गरेकाछन ।
माधव समुहबाट चर्चामा नै रहेका नेता चौधरीले पार्टीको नाम के राख्ने भन्ने बारेमा यस्तो भने ‘हामी यसबारे छलफलमा छौं । कम्युनिष्ट पार्टी नछोड्ने कुरा छ । अब के हुन्छ हेरौँ ? सबै खालका कम्युनिष्टहरुलाई जोडेर सबैको विचारलाई सुनेर निश्कर्ष निकाल्ने कुरा होला । तर, यसबारेमा अझैपनि टुङ्गो भएको छैन ।’

नेता चौधरीले नयाँ बन्ने पार्टीको नाममा कम्युनिष्ट नछुट्ने र त्यसको पछाडि केही केही जोडिन सक्ने संकेत गरेकाछन । उनले भने ‘अब एकीकृतलाई पनि सम्बोधन हुने, कम्युनिष्ट पार्टी पनि समेट्ने । यो दुई वटा चिज नछुट्ने गरेर नाम हुन्छ ।’
चौधरीले केपी ओलीले पार्टी विभाजन गरिसकेको बताउदै । आफुहरु पनि राजनीतिक प्राणीको हिसाबले पार्टी त बनाउनै पर्ने बाध्यतामा भएको प्रष्ट पारेकाछन । उनले भने ‘ओलीले पार्टी फुट व्यवहारिक रुपमा अगाडि बढाइसकेका छन । जुनदिन उनले घोषणा गर्छन्, त्यो दिन हामीले पनि बनाउँछौँ ।’
केपी ओलीका अहिलेका कदम प्रति सहमति हुने कुनै संभावना नै नभएको भन्दै सहमति भएको भए त आफुहरु एकैठाउ रहने तर्क समेत गरेकाछन । उनले भने ‘असहमति भएकै कारणले आज हामी यो ठाउँमा आईपुगेको हो । त्यसैले जुन दिनदेखि सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग बस भनेर भनेको थियो, त्यसपछि पनि ओलीले आफ्ना गुटका मान्छे मात्रै राखेर थुप्रै निणर्य गर्ने कामहरु गरे । त्यही दिनदेखि नै एमालेलाई विभाजन गरिसकेको अवस्था थियो । तर, पनि नेकपा (एमाले) लाई एक ठाउँमा ल्याउन सकिन्छ कि मिलाउन सकिन्छ कि भनेर म्याक्सिमम हाम्रो तर्फबाट प्रयास र पहलहरु भए । तर, हाम्रो प्रयासले मात्रै नहुने रहेछ । किनकी ओलीले पार्टी विभाजन गर्ने एक खालको कमिटमेन्ट नै गरिसकेका रहेछन । त्यसैले हामीले चाहेर पनि एमालेलाई एकीकृत गर्ने अनि पार्टीलाई सग्लो राख्ने कुरा सम्भव भएन । त्यसैले अब ओलीले पार्टी विभाजन गरिसकेपछि हामीले कि त ओलीको टाङमुनि छिर्नुपर्ने अवस्था कि त नयाँ पार्टी निर्माण गर्नुपर्ने अवस्था यो दुई ओटा अवस्थामध्ये एउटा नयाँ पार्टी निर्माण गर्नुपर्ने कुरालाई हामीले नेपाल भरिकै कम्युनिष्टहरुलाई नयाँ पार्टीसंग जोड्ने कुरा अनि एकीकृत बनाउने कुरा हाम्रो विचार त हामीसंग जति मिल्न सक्छन । सबैसंग मिल्ने कुरा त्यो ठाउँमा हामी आईपुगेका छौँ । यो हाम्रो निश्चय ठुलो बाध्यता हो ।’