राजनीति
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको छ । नेपाल सरकारसँग भएको एमसीसी सम्झौता संशोधन हुन नसक्ने भन्दै अमेरिकाले जवाफ पठाएको छ ।
सम्झौतामाथि नेपालमा उठेका प्रश्नहरूलाई सरकारले आफ्नोतर्फबाट पठाएको प्रश्नको जवाफ दिँदै सम्झौताको मूल अंश भने संशोधन हुन नसक्ने उल्लेख गरेको हो । नेपाल भ्रमणमा आउन लागेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गरेकी छन् ।
नेपाल सरकारले ६ नम्बर बुँदामा संशोधनको कुरा संसद्बाट किन अनुमोदन हुन नसक्ने भन्दै सोधेको प्रश्नको जवाफ दिँदै सुमारले भनेकी छन्,’ हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन ।’
सत्ता गठबन्धनका प्रमुख साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी संशोधनपछि मात्रै अनुमोदन हुने बताएका थिए । सम्झौताले नेपालको सार्वभौमिकतालाई खुम्चाउने भन्दै त्यसलाई अनुमोदन गरेर मात्रै पारित गर्नुपर्ने मागसहित देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।