logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

अर्थमन्त्रीले संसदमा जनयुद्ध गरे : चाैधरी


  • राजनीति
  • शुक्रबार, भाद्र २५ २०७८

शुक्रबार प्रतिनिधि सभाको दृश्य अरू बेलाको भन्दा फरक थियो । रोष्टममा अर्थमन्त्री जनार्दन शर्मा बजेट सम्बन्धी प्रतिस्थापन विधेयक वाचन गरिरहेका थिए । संसद्को ड्यासको अग्रभागमा एमालेका सांसदहरू सभामुख विरुद्ध नाराबाजी गर्दै रोष्टममा उक्लिने प्रयास गरिरहेका थिए भने मर्यादापालकहरुलाई सांसदहरूको भीड रोक्न हम्मे परिरहेको थियो ।

एमाले सांसदहरू नाराबाजीमा मात्र सीमित रहेनन्, उनीहरू रोष्टममा पुग्नका लागि मर्यादापालकमाथि नै चढ्न थाले । सांसद गंगा चौधरी सभामुख आसिन रोष्टममा पुग्न मर्यादापालकहरुको काँधमा नै चढ्न पुगिन् । तर मर्यादापालकहरुले उनको प्रयासलाई असफल पारिदिए ।

संसद् बैठक सकिएर बाहिर निस्कने क्रममा पत्रकारहरूले तपाई रोष्टममा पुगेर के गर्न चाहनुहुन्थ्यो भन्ने प्रश्नमा उनले बजेट विधेयक वाचन गरिरहेका अर्थमन्त्री शर्मालाई रोक्नका लागि प्रयास गरेको बताइन् ।

उनले भनिन्–‘अर्थमन्त्रीले रोष्मटमा बोलिरहेको कुरालाई रोक्ने मेरो उद्देश्य थियो । रोष्टममा अर्थमन्त्री चोर बाटोबाट त्यसरी लुकेर जाने हैन नि । के जनयुद्ध हो यो ? संसद्भित्र जनयुद्ध गरेको हो ? लोकतन्त्र के हो, व्यवस्थापिका के हो ? यस्तो गुरिल्ला पाराले यो सरकार अघि बढ्न सक्दैन् ।’

सांसद चौधरीले २३ गते बसेको प्रतिनिधि सभाको बैठकमा पनि विरोधका क्रममा संसदमा ड्यासमा पुग्ने प्रयास गरे पनि मर्यादापालकहरु रोक्न सफल भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार