logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भाैतिक मन्त्रालयसहित यी हुन एकिकृत समाजवादीबाट मन्त्री बन्ने नेताहरु, हेर्नुस्


  • राजनीति
  • शनिबार, भाद्र २६ २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित नै छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

यसबीच भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासाे छ ।

करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ।

पार्टी अध्यक्ष माधव नेपाल अझन् दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ ।

तर, नेकपा एसकै एक नेता न्यौपाने र भुसालको नेतृत्वमा नभइ तेस्रो व्यक्तिको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको बताउँछन् ।

भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ।

‘बेदुरामले पार्टी चलाउने भनेपछि सरकारमा जाने कुरा भएन,’ ती नेताले भने, ‘मुकुन्द पनि हुनुहुन्छ । तर, उहाँहरु दुवैजना नजाने सम्भावना छ।’

मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको सम्भावना कम रहेको बताइन्छ।

‘मुकुन्द्र कमरेडको राम्रो पर्फमेन्स नै भएन,’ ती नेताले भने, ‘उहाँको नेतृत्वमा जाँदा उपप्रधानमन्त्रीसहित जानुपर्यो । अहिले उपप्रधानमन्त्री नबाउने जस्तो पनि छ । अनि राम्रो मन्त्रालय पनि हुनुपर्यो । त्यसकारण उहाँको सम्भावना छैन।’

उसो भए तेस्रो व्यक्ति को हो ? जसले सरकारमा जानेहरुको नेतृत्व गर्नेछ ? न्यौपाने र भुसाल नजाने भएपछि सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् । उनको नेतृत्वमा सरकारमा जाने सम्भावना पनि उत्तिकै रहेको नेकपा एसकै अर्का नेताले बताए।

नेकपा एसबाट खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, प्रेम आले, रामकुमारी झाँक्रीलगायत मन्त्री हुने सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार