logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसी संसदबाट पारित हुने पक्का, प्रचण्डले दिए यस्तो सहमति


  • राजनीति
  • शनिबार, मंसिर ४ २०७८

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदको मतदानमा लैजान तयार भएका छन् । सम्भवतः सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनपछि बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि मतदान हुनेछ ।

एमसीसी सम्झौता साढे २ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । ३० असार २०७६ मा संसद सचिवालयमा दर्ता भएको यो सम्झौता संसदीय अनुमोदनमा लागि भन्दै पछिल्लो पटक थपेको म्याद मंसिर २८ (डिसेम्बर १४) मा सकिँदैछ ।

भदौमा नेपाल आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपालका लागि यो अन्तिम मौका हो भनेर फर्किएकी थिइन । तर पछिल्लो पटक प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे सहमति खोज्न समय चाहिएको भन्दै एमसीसीलाई पत्र समेत लेखेका थिए । सम्झौताको म्याद सकिने अवधि नजिकिँदै जाँदा अमेरिकाले निर्णय लिन नेपालमाथि दबाव बढाएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख दलका नेताहरुलाई भेटेर एमसीसीसबारे छिटो निर्णय लिन आग्रह गरेका छन् ।

बालुवाटार स्रोतका अनुसार अमेरिकी सहायकमन्त्री काठमाडौं आइपुगेकै दिन बिहीबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे छलफल भएको थियो । प्रधानमन्त्री निकट स्रोत भन्छ, ‘एमसीसीको पक्षमा उभिने कि विपक्षमा केही भन्नुभएको छैन । तर संसदको प्रक्रियामा लैजान उहाँ (प्रचण्ड) सहमत हुनुभएको छ ।’

शुक्रबार अमेरिकी सहायक मन्त्री लूसँग भएको भेटमा पनि र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त्यही संकेत गरेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा प्रचण्डले दलहरुले आफनो मत संसदमै राख्ने अवस्था आउनसक्छ भनेका छन् । एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा आफूहरु नभएको, तर केही विषय नेपालमा विवादित भएकाले साझा सहमति बनाउने प्रयास भइरहेको उनको दाबी छ ।

प्रधानमन्त्री देउवासँग छिट्टै सर्वदलीय बैठक बोलाउने, बुद्धिजिवीसँग पनि छलफल गर्ने उनले डिसेम्बर १४ अगाडि नै निर्णयमा पुग्ने प्रयास हुने बताए । अमेरिकी सहायकमन्त्री लूसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग माओवादी केन्द्रका प्रचण्डले भने, ‘उहाँहरुले डिसेम्बर १४ सम्म टुंग्याइदिए हुन्थ्यो भन्नुभएको छ । हामी डिसेम्बर १४ अगाडि एउटा टुंगोमा पुग्ने कोशिस गर्छौं भनेको छु ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार