राजनीति
नेकपा (एमाले) ले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ ।
सौराहमा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेताहरूसँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए । मध्यरातमा सुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका थिए । तर रावलले उनको प्रस्तावलाई अस्वीकार गरे ।
बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले एकताका लागि आफूले धेरै प्रयास गरेको बताए । असहमति र असन्तुष्टि हुनु स्वभाविक भएपनि बाहिर लैजान राम्रो नभएको भन्दै उनले भने, ‘मैले धेरै पटक भीम रावललाई उपाध्यक्षको उम्मेदवार बन्न आग्रह गरेँ, तर सम्झाउन सकिएन ।’
महाधिवेशन प्रतिनिधिहरुले ताली बजाए । लगतै ओलीले अघि भने, ‘सिंगै हलले भनेको भन्दा बहिर नजान भीम रावललाई आग्रह गर्दछु ।’
तर रावलले लामो बहस गर्न चाहेनन् र अध्यक्षको उम्मेदवार हुने बताए । ‘रात गएर विहान भयो कमरेडहरु सुत्न पाउनु भएको छैन,’ उनले भने, ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’
रावलले अडान नछडेपछि हलमा होहल्ला भयो । रावलविरुद्ध नारा हुटिङ भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’
एमालेको निर्वाचन अयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार विहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।
बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष मण्डलको बैठकमा सहमति नभए पछि सहमति नजुटेका पदमा मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले निर्वाचन आयोगले सूचना टाँस गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ नाममा मुख्यत: भीम रावल र घनश्याम भुसालले असहमति जनाएपछि निर्वाचनको माहोलतर्फ एमाले महाधिवेशन अघि बढेको हो ।