राजनीति
नेपाली काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएसँगै अमेरिकी सहयोग परियोजना (एमसीसी) कसरी अगाडि बढ्छ भन्ने बिषय सर्वत्र चासाेकाे बिषय बनेकाे छ । यसैबीच एमसिसीकाे बिषयमा एकठाँउमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसबिच देउवा नयाँ समिकरण हुने अवस्था देखिएकाे विश्लेषण हुन थालेकाे छ । पुस ६ गते संसद डाकिएकाे छ । अमेरिकाले एमसिसी पास गर्न निरन्तर दवाब दिइरहेकाे बेला लगातार जसाे संसद बाेलाउनुलाइ अर्थपुर्ण रुपमा हेरिएकाे छ ।
एमसिसी लागू गर्ने पक्षमा रहेका एमाले अध्यक्ष ओली र एमसिसी जसरी पनि पारित गराउने साेचमा रहेका देउवाबिच सत्ता गठबन्धनमा प्रचण्ड बाधक बने नयाँ समिकरण बन्ने लगभग निश्चित प्रायः देखिएकाे छ ।
अघिल्लो वर्षको तुलनामा केही छिटो गरी संसदको हिउँदे अधिवेशन बोलाउनुलाई पनि एमसीसी परियोजना अगाडि बढाउन खोजेको आशंका गरिएको छ । यही बेला काँग्रेसको नेतृत्वमा पुनः देउवा विजयी भएपछि यो परियोजनाबारे चासो बढेको हो ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य एमसीसी पास गर्न अब देउवाको जोड रहने बताउँछन् । देउवा उदार लोकतन्त्रलाई परिपोषण गर्ने र पश्चिमा देशहरुसँग अझ नजिक रहेका कारण पनि यस्ता परियोजनालाई अगाडि बढाउन चाहने गरेको उनले बताए ।
आचार्यले भने, ‘स्वाभाविक रुपमा देउवालाई अब एमसीसी अगाडि बढाउन सहज छ । तर उहाँका लागि एमसीसी अगाडि बढाउन सत्ता गठबन्धन बाधक छ । यसका लागि पुष्पकमल दाहाल बाधक छन् ।’
उनले एमसीसीकै कारण अहिलेको गठबन्धन दल भत्किने र नयाँ गठबन्धन बन्ने सम्भावना पनि रहेको तर्क गरे । उनले भने, ‘अब गठबन्धनमा केपी ओलीको प्रवेश पनि हुन सक्छ । दुवैले पार्टीबाट फ्रेस म्यान्डेट लिएका छन् । यी दुवैको सत्ता समीकरणको सम्भावना पनि उत्तिकै छ ।’
एमसीसी पास गर्ने दुवैको चाहना रहेको टिप्पणी गर्दै आचार्यले अगाडि भने, ‘त्यसकारण अहिलेको गठबन्धनबाट एमसीसी पास हुन्छ भन्ने मलाई लाग्दैन । चुनाव अगाडि नयाँ गठबन्धन बन्ने सम्भावना छैन भन्ने कुरा पनि मलाई लाग्दैन । चुनाव अगाडि नयाँ गठबन्धन बन्ने सम्भावना पर्याप्त छ । यदि त्यस्तो गठबन्धन बन्यो भने त्यसको उद्देश्य नै एमसीसी हो ।’
यता भने अमेरिकी सहयोग परियोजना र अर्थमन्त्रालय बिच भएको सम्झौताको आधारमा एमसीए नेपाल परियोजना सञ्चालनमा छ । एमसीसी परियोजनाले विद्युत प्रसारण लाइन निर्माण गर्ने स्थानमा पूर्वतयारी, जग्गा अधिग्रहण लगायतका काम गरिरहेको एमसीए नेपालका सहायक सूचना अधिकारी सत्यम पाठकले जानकारी दिए ।
उनले एमसीसी अनुमोदनपछि काम अघि बढ्ने भएकाले त्यसका लागि एमसीए नेपालले पूर्व तयारीका काम गरिरहेको बताए ।
उनले भने, ‘अहिले हामीले पूर्व तयारीका काम गरिरहेका छौँ । जग्गा अधिग्रहणको काम भइरहेको छ । अहिले नुवाकोटको रातोमाटे सबस्टेशन लगायतका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । सार्वजनिक खरिद ऐनमा कुनै पनि आयोजनाको काम सुरु गर्नु अघि अगाडि नै जग्गा अधिग्रहण गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार जग्गा अधिग्रहण र डिजाइनहरूको सबै काम गरिसक्नुपर्छ ।’
निर्माणको चरणमा जानुभन्दा अगाडि गर्नुपर्ने कामहरु अहिले आफूहरुले गरिरहेको उनको भनाइ छ ।
एमसीसी परियोजना अन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर रकम दिने सम्झौता भएको छ । जसमा नेपालको तर्फबाट १३ करोड अमेरिकी डलर बराबरको रकम खर्च गर्नुपर्ने प्रावधान छ । सोही आधारमा अर्थ मन्त्रालय मातहत रहेको एमसीए नेपालले संसदबाट एमसीसी परियोजना अनुमोदन नहुँदै नुवाकोटका केही स्थानमा जग्गा अधिग्रहणको काम अघि बढाइरहेको हो । एमसीए नेपालका सहायक सूचना अधिकारी पाठकले नेपाल सरकारको रातो किताबका प्रकाशित योजना अनुसार नै एमसीए नेपालले काम गरिरहेको बताए ।