logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

एमसिसीबारे सर्वदलीय बैठकमा प्रचण्ड माैन, कुन नेताले के भने ? हेर्नुस्


  • राजनीति
  • सोमबार, पुष ५ २०७८

विवादास्पद रुपमा रहेकाे अमेरिकी सहयोग परियोजना, मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई लिएर सत्तारुढ गठबन्धनमा मतभेद बढेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापतिक शेरबहादुर देउवा आजभोलि नै एमसीसी संसदबाट अनुमोदन गराउन चाहन्छन् भने दुई वाम घटक नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी यसको विपक्षमा छन् ।

पार्टीको १४औं महाधिवेशनबाट पुनः सभापतिमा चुनिएका प्रधानमन्त्री देउवाले आइतबार पहिले सत्तारुढ गठबन्धन र त्यसपछि सर्वदलीय बैठक बोलाएका थिए । सत्तारुढ दलहरुको बैठकको सुरुमै प्रधानमन्त्री देउवाले एमसीसीका लागि बैठक बोलाएको भन्दै तुरुन्तै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यसबारे छलफल गर्नुपर्ने बताए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी -नेकपा) ले कार्यदल नै बनाएको र एमसीसीका कतिपय विषय स्वीकार गर्न नसकिने रहेको बताए । ‘यसबारे अमेरिकासँग कुरा गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री नेपालले भनेका छन् ।

जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले पनि इण्डो प्यासिफिक रणनीति अन्तरगत हो वा होइन मात्र नभई सम्झौताका अन्तरवस्तुमा छलफल गर्नुपजर्ने बताए । उनले भने, ‘अमेरिकालेे पनि समय तोकेको छैन, हतार नगरौं ।’ यादवले हतार नगरौं भन्दा देउवाले ‘टाइम छैन, टाइम’ भन्दै प्रतिवाद गरेका थिए ।

एक नेताका अनुसार बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी धारणा राखेका थिए । गठबन्धनलाई कायम राख्दै यो विषयमा कसरी सम्बोधन गर्न सकिन्छ उपाय खोज्नुपर्ने उनको धारणा थियो । हिजाे मात्रै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसिसी टेवुल नगर्न प्रचण्डले देउवालाई  आग्रह गरेका समाचार बाहिरिएका थिए । तर सर्वदलीय बैठकमा प्रचण्डले सत्ता गठबन्धन बचाउनुपर्ने र एमसिसीलाइ कसरी सम्बाेधन गर्न सकिन्छ हल खाेज्नु पर्ने बताएका छन् ।

एकीकृत समाजवादीकै झलनाथ खनालले सन् २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको र २०१९ मा केपी शर्मा ओलीले संसदमा पेश गरेको सम्झौतामा फरक भएको बताएका थिए । उनले चुनाव अगाडि किन हतार गरेको भनेर कांग्रेस नेताहरुलाई प्रश्न गरेका थिए ।

उनलाई कांग्रेसका नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्काले जवाफ दिए । उनले भने, ‘बाजा बजाएर जानुपर्छ, नभए नाथे यति पनि गर्न सकेन भन्छन् ।’

उनको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेको एक नेताले सुनाए । एमसीसीबारे सत्तारुढ गठबन्धनमा सहमति नभएको र अमेरिकाले पनि समय नतोकेकोले आजैभोलि भन्न जरुरी नभएको उनले बताए । ‘हामीले पनि राष्ट्रघाती भनेर छलफल सुरु गर्नु भएन,’ पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भने, ‘तपाईहरुले हामीलाई पनि विकास विरोध, अमेरिकी सहयोग लिन नचाहने भभनेर छलफल सुरु गर्नु भएन ।’

बैठकमा जसपाका नेता डा. बाबुराम भट्टराई भने एमसीसीको पक्षमा उभिएका छन् । आफ्नो व्यत्तिगत विचार भन्दै उनले सकेसम्म सहमति गर्नुपर्ने, नभए लोकतान्त्रिक विधिअनुसार बहुमतले पास गर्ने, अरुले विरोध गरेर जानुपर्ने बताए ।

सत्तारुढ दलहरुबीच चर्को मतभेद देखिएपछि एमसीसी सम्झौताका छलफल गर्नुपर्ने बुँदाहरु टिपोट गर्ने जिम्मा पूर्वप्रधानमन्त्री खनाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्व परराष्ट्रमन्त्री श्रेष्ठलाई दिइएको छ । बैठक सकिँदै गर्दा प्रधानमन्त्री देउवाले तीन नेतालाई जभोलिमै छलफलमा जुट्न र छिटो टुंगोमा पुर्‍याउन दबाव दिएको एक नेताले सुनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार