राजनीति
तत्कालीन नेकपा माओवादीले ०५२ साल फागुन १ गते रातिदेखि सशस्त्र जनयुद्ध थाल्यो । त्यसबेला प्रचण्डको नेतृत्वमा १९ सदस्यीय केन्द्रीय कमिटी थियो । जनयुद्धमा होमिनुअघि बसेको केन्द्रीय कमिटीको बैठकमा नेताहरु निकै भावुक देखिन्थे । बन्दुक बोकेर हिँडिसकेपछि अब कोको बाँचिएला, फेरि भेट होला कि नहोला भन्दै उनीहरुले सामूहिक तस्बिर खिचाए । तर, त्यो तस्बिर अहिलेसम्म सार्वजनिक भएको छैन ।
संयोगवस् माओवादीको हेडक्वार्टरमा खासै ठूलो क्षति भएन । १० वर्षे जनयुद्धका क्रममा ८ जना केन्द्रीय सदस्यले बलिदानी दिए । एकजना केन्द्रीय सदस्य गिरफ्तारपछि बेपत्ता पारिए । अन्ततः शान्ति प्रक्रियामा आउँदा अध्यक्ष प्रचण्डसहित विद्रोही माओवादीका प्रायः सबैजसोजनयुद्धकालीन केन्द्रीय सदस्यहरु ज्यान जोगाएर काठमाडौं उत्रन सफल भए ।
सामूहिक फोटो खिचेर मृत्युको सुरुङमा हिँडेका केन्द्रीय नेताहरुमध्ये सुरेश वाग्ले, रीतबहादुर खड्का, नेपबहादुर केसी, शेरमान कुँवर, मोहनचन्द्र गौतम र किमबहादुर थापा राज्य पक्षबाट मारिए । केन्द्रीय सल्लाहकार तेजमान घर्तीले कपिलवस्तुमा आत्मघाती ग्रिनेट विस्फोटमा परी ज्यान गुमाए । केन्द्रीय नेता यानप्रसाद गौतम (आलोक) पार्टीको आन्तरिक हिरासतमा रहेका बेला सेनाद्वारा मारिए । केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने गिरफ्तारपछि बेपत्ता पारिए । अहिलेसम्म केन्द्रीय सदस्य न्यौपानेको खुट खबर छैन । न सास भेटियो, न लास ।
माओवादीका केन्द्रीय सदस्यहरुको विवरण हेर्दा ०५२ सालमा जनयुद्ध थाल्नुअघि केन्द्रीय कमिटीमा १९ जना थिए । ०५५ सालको चौथो विस्तारित बैठकबाट ३५ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । त्यसबीचमा धेरै नेताहरु बढुवा भएर केन्द्रीय कमिटीमा आइपुगे ।
जनयुद्ध हाँक्ने दोस्रो राष्ट्रिय सम्मेलनका ३५ केन्द्रीय सदस्यमध्ये १६ जना अहिले पनि प्रचण्डकै साथमा छन् । १५ जनाले प्रचण्ड नेतृत्वको पार्टी छाडिसकेका छन् । दुईजना उपराष्ट्रपति र सभामुखको भूमिकामा छन् भने एकजना पोष्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भइसकेको छ ।
०५२ साल फागुन १ गते जनयुद्ध शुरु हुनेबेला केन्द्रीय कमिटीमा रहेका १९ नेता यी थिए–
पुष्पकमल दाहाल प्रचण्ड, मोहन वैद्य, डा. बाबुराम भट्टराई, स्व.पोष्टबहादुर बोगटी, रामबहादुर थापा बादल, सीपी गजुरेल, हरिभक्त कँडेल, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मातृका यादव, नारायणप्रसाद शर्मा पौडेल, अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुसाल, लोकेन्द्र विष्ट, स्व.यानप्रसाद गौतम, दण्डपाणि न्यौपाने (वेपत्ता), दिनेश शर्मा र फणीन्द्र आचार्य ।
जनयुद्धकै क्रममा विभिन्न समयमा केन्द्रीय कमिटीमा नेताहरुको बढुवा भयो । खास गरी ०५५ सालमा चौथो विस्तारित बैठकबाट विप्लव, वर्षमान, जनार्दन लगायत धेरै युवा नेताहरु केन्द्रीय सदस्यमा एकसाथ बढुवा भए । त्यसपछि ०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा थप नेताहरु बढुवा भए ।