राजनीति
नेकपा माओवादी केन्द्र कञ्चनपुरमा पूर्व सांसदसहित नेताहरू विद्रोहको तयारीमा लागेका छन् । पूर्वमन्त्री बिना मगरको गृहजिल्ला कञ्चनपुरमा पार्टी संस्थापन पक्षबाट पेलानमा परेका नेताकार्यकर्ता एकजुट हुँदै विद्रोहको तयारीमा लागेका छन् ।
माओवादी केन्द्रले काठमाडौंमा महाधिवेशन गरिरहेको बेला कञ्चनपुरमा पूर्व सांसद कमल क्षेत्री, पूर्व जिल्ला अध्यक्ष खडक बस्नेत, पूर्व जिल्ला सचिव विपिन दहित, पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर रक्तबिज लगायतले सोमबार कञ्चनपुरको कलुवापुरमा छुट्टै भेला गरेर असन्तुष्ट नेता कार्यकर्तालाई एकजुट गरेका छन् ।
कञ्चनपुरमा बिना मगर र टेकेन्द्रप्रसाद भट्टसँग फरक मत राख्नेलाई सौतेनी व्यवहार गरिएपछि विद्रोहको तयारी गरिएको माओवादीनिकट स्रोतले जनाएको छ । पार्टी सम्मेलनमा कुनै स्थान नदिइएको, पार्टीका हरेक जिम्मेवारीबाट अलग गरिएको भनेर भेलामा सहभागी नेता कार्यकर्ताहरूको गुनासो गरेका युवा नेता सीके भट्टले जानकारी दिए ।
सोमबारको भेलामा कञ्चनपुरका ४१ जना नेता कार्यकर्ताले सहभागिता जनाएका छन् । पालिका तह र प्रदेश तहको पार्टी कमिटी निर्माणमा सिनियर नेताहरूलाई पाखा लगाइएपछि असन्तुष्ट नेता–कार्यकर्ता विद्रोहको रणनीति बनाउनतिर लागेका जनाइएको छ ।