logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

प्रचण्ड चाेर हुन् : रामचन्द्र पाैडेल


  • राजनीति
  • शुक्रबार, पुष १६ २०७८

सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो शब्द चोरिएको आरोप लगाएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै पौडेलले भने, “प्रचण्डले मेरो शब्द चोरेका छन् । नेपालको समाजवादको आफ्नै खालको विशिष्टता छ । आफ्नै मोडल छ । प्रचण्डमा गोलमटोल शब्दाडम्बर मात्र छ । यहाँको समस्याको प्रस्ट बाटो छैन । एमालेले पनि होहल्ला र तामझाम मात्र गर्यो । विचारको बहस गरेन ।”

पौडेलले नेपाली कांग्रेस कालिदासले ‘क’ दुब्लायो भनेर रोएर बसेको स्थितिमा रहेको टिप्पणी गरेका छन् । वरिष्ठ नेता पौडेलले भने, “२०३३ मा बीपी कोइराला निकै सुझबुझसहित अत्यन्त डायनामिक राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश प्रवेश गर्नुभएको थियो । त्यतिबेला बीपी र मेरो बीचमा तीन दिनसम्म बहस भएको थियो । तर त्यो कुरा दरबारलगायत अरुले त बुझेनन् बुझेनन्, कांग्रेसका साथीहरुले पनि बुझेनन् । धेरै वर्षसम्म गाँठो अड्केर बस्यो । अनमन र अमिलोपन कायमै रह्यो । अहिले राजतन्त्र त गइसक्यो तर राष्ट्रको सवालहरु यथावत् छन् । त्यसैले बीपीको राष्ट्रिय मेलमिलाप नीति अहिले पनि त्यत्तिकै सान्दर्भिक छ ।”

“अन्धविश्वासी भएर कति गुट समातेर बस्ने ?”

नेता पौडेलले कांग्रेसमा राष्ट्रिय मेलमिलाप नीतिलाई आत्मसात् नगरी बीपीको उत्तराधिकारीको नाटक मात्र भइरहेको आरोप पनि लगाए । उनले थपे, “कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र समाजवाद शब्दमात्र समातेर हुँदैन । आफ्नो मौलिकतालाई चिन्न नसकेर कांग्रेस कालिदासले ‘क’ दुब्लायो भनेर रोएर बसेजस्तो हालतमा छ । कांग्रेस । मैले लेखेका कुरा पढेका छैनन् । कति अन्धविश्वासी भएर गुट समातेर बसेका छन् ।”

“क्षेत्रीको माम्लो जसो गर्‍यो, उसै राम्रो !”

बीपीको विचारलाई कांग्रेसले नै चिन्न नसकेको उनको स्वीकारोक्ति छ । पौडेलले व्यंग्य गरे, “बीपी मित्रको हित चाहनुहुन्थ्यो । माओ, नेहरुलाई पनि भन्ने हैसियत राख्नुहुन्थ्यो । तर यहाँ मित्रले मित्र चिनेनन्, मित्रको हित चाहेनन् । औषधिको स्वाद टर्रो हुन्छ । मित्रको हितवचन नसुन्दा समस्या जटिल बनेका छन् । साँच्चै भन्ने हो भने कांग्रेस त ‘क्षेत्रीको माम्लो जसो गर्‍यो, उसै राम्रो’ भनेजस्तो छ । लुगा लगाएर खाए पनि हुने, गायत्री मन्त्र जपेर खाए पनि हुने, जुत्ता लगाएर खाए पनि हुने, धोती फेरेर खाए पनि हुने ।”

“यहाँ कोही कम्युनिस्ट छैन”

बीपीले कम्युनिस्टहरुसँग सहकार्य गर्नुहुन्न भन्नुहुन्थ्यो, तपाईंहरु प्रचण्डकै पथमा हिँडिरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो गलत कुरा हो । कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने खालको निर्वाचन प्रणाली अपनाउने संविधान बनाउने अनि सहकार्य नगर्ने ? पार्टी पार्टी नमिले कसरी सरकार बन्छ ? कसैसित मिल्दिन भन्नु आत्मवञ्चना मात्र हो । यहाँ कोही पनि कम्युनिस्ट छैन । प्रकृतिको नियमभन्दा विपरीत भएकाले कम्युनिजम चल्दै चलेन । कांग्रेसमा सामथ्र्य भए पनि लरखरिएर मात्र बसेको छ । विचार रुढ भएर चल्दैन राजनीति । पैसाको भरमा गुटको राजनीति गर्ने, नेता बलियो हुने अनि पार्टी कमजोर भएपछि देश कसरी चल्छ ?”

“बीपी र म एक्लो वृहस्पति झूटा”

कांग्रेसभित्र आफू बीपी कोइरालाले भनेजस्तो एक्लो वृहस्पति झूटा हुन पुगेको पौडेलले बताए । उनले भने, “भ्रष्टाचार र कमिसनको बलमा सत्ता राजनीति सफल हुने, व्यवस्था असफल हुने परिपाटी छ नेपालमा । बीपी कोइराला एकफेर ‘एक्लो वृहस्पति झूटा’ भन्नुहुन्थ्यो । अहिले म पनि त्यस्तै भइरहेको छु । मेरा कुरा सुन्न कोही तयार छैन । सबैलाई आफ्नो दुनो सोझ्याउने हतारो मात्र छ । कांग्रेसले पहिले बीपीको मेलमिलापको मर्म बुझुन् अनि मात्र बन्छ देश ।”

“डा. गोविन्द केसीको उपदेशमा हामीले मुन्टो झुकाएर ‘हो हो’ भन्नुपर्ने ?”

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा पनि लहैलहैमा लागेको आरोप पनि उनले लगाए । उनले भने, “उहाँहरु (विश्वप्रकाश शर्मा र गगन थापा) लहैलहैमा ताली बजाउन थाल्नुभएको छ । रमाइलो नेतृत्वले यहाँ काम चल्दैन । अदालतमा हाम्रो घोर बेइज्जती भएको छ । यो नेताहरुको असफलता हो । डा. गोविन्द केसीको उपदेशमा हामीले मुन्टो झुकाएर ‘हो हो’ भन्नुपर्ने ?”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार