राजनीति
जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन नयाँ नेतृत्व चयनसहित शनिबार सम्पन्न गर्ने तयारी भएको छ । शनिबार ११ बजे सुरु हुने बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । त्यसपछि विधान संशोधन प्रस्ताव पारित निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको छ ।
पदाधिकारीका दाबेदार कोको ?
माओवादीको अध्यक्षमा प्रचण्ड नै सर्वसम्मत हुने निश्चित छ । बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना बढी छ भने बाँकी ६ उपाध्यक्षमा पहिलो पुस्ताबाट कृष्णबहादुर महरा, हरिबोल गजुरेल, दीनानाथ शर्मा, लीलामणि पोखरेल, शशी श्रेष्ठ लगायतको सम्भावना बढी देखिन्छ । मधेसको प्रतिनिधित्वका लागि दोस्रो पुस्ताका मातृका यादवलाई पनि उपाध्यक्ष बनाइन सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । त्यस्तै, महासचिवको दाबी गरिरहेकी दोस्रो पुसताकी पम्फा भुसाललाई पनि उपसभापतिमा व्यवस्थापन गर्ने सम्भावना रहेको बताइन्छ । यसबाहेक काँग्रेसमा जस्तै युवापुस्ताबाट उपाध्यक्ष बन्ने कल्पना अहिलेसम्म माओवादीको महाधिवेशन हलले गरेको छैन ।
माओवादीको महामन्त्रीका लागि अहिलेसम्म दोस्रो पुस्ताका नेताहरु वर्षमान पुन र जनार्दन शर्माको दाबी चर्चामा आएको छ । यसबाहेक पम्फा भुसालले पनि महासचिवमा हल्का दाबी गरेकी छिन् । यसबाहेक तेस्रो पुस्ताका कुनै नेताले पनि काँग्रेसमा जसरी महासचिवमा दाबी गर्ने आँट गरेका छैनन् । बरु पुरानै पुस्ताका कृष्ण बहादुर महरालाई पो महासचिव बनाइने हो कि भन्ने चर्चा पनि माओवादीभित्र चल्दै आएको छ ।
माओवादीमा दोस्रो पुस्ताका नेताहरुको ठूलो पंक्ति छ, जसले गर्दा तेस्रो पुस्ताले आगामी पाँच वर्षसम्म पदाधिकारीमा पाइला टेक्न गाह्रो देखिन्छ । दुई उपमहासचिव र तीन सचिव पदमा दोस्रो पुस्ताकै नेताहरु दाबेदार मानिन्छन्, जसको पंक्ति निकै लामो छ । १५ सदस्यीय पदाधिकारीमा अटाउनुपर्ने दोस्रो पुस्ताका करिब २६ जना माओवादी नेताहरुको सूची हेरौं
वर्षमान पुन, गिरीराजमणि पोखरेल, देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत, राम कार्की, मात्रिका यादव, पम्फा भुसाल, उर्मिला अर्याल, विश्वनाथ साह, गणेश साह, हितमान शाक्य, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, नारायणप्रसाद दाहाल, ओनसरी घर्ती, जयपुरी घर्ती, कुलप्रसाद केसी, देवेन्द्र पराजुली, कृष्णध्वज खड्का, रेखा शर्मा, खिमलाल देवकोटा, डिलाराम आचार्य, डोरप्रसाद उपाध्याय, पूर्णाकुमारी सुवेदी, लक्ष्मण पन्त, वामदेव क्षेत्री, टंक राई, हितबहादुर तामाङ, कल्पना धमला ।
स्थायी कमिटीमा पनि पुरानैको बाहुल्य रहने
माओवादीमा पहिलो पुस्ताका ७ र दोस्रो पुस्ताका २६ बढी नेताहरुलाई जोड्दा ३३ जना पुग्छन् । पदाधिकारीपछिको स्थायी कमिटीमा उनीहरुले नै भरिने सम्भावना छ ।
विधान अनुसार केन्द्रीय कमिटीको एक तिहाई संख्या पोलिटब्यूरो हुनेछन् । २९९ सदस्यीय केन्द्रीय कमिटी बन्दाखेरि ९९ सदस्यीय पोलिटब्यूरो गठन हुन्छ भने त्यसको एक हिताई अर्थात ३३ सदस्यीय स्थायी कमिटी बन्नेछ । त्यो अवस्थामा प्रतिस्पर्धा नगराउने र बरिष्ठतालाई मात्रै हेर्ने हो भने स्थायी कमिटी पहिलो र दोस्रो पुस्ताकै नेताहरुले भरिनेछ । त्यसपछि तेस्रो पुस्ताका नेताहरुले पोलिटब्यूरो र केन्द्रीय समिति वा विभागहरुको सदस्यमा चित्त बुझाउनुपर्ने हुन सक्छ ।
विधानअनुसार केन्द्रीय समितिमा जस्तै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीमा पनि २० प्रतिशत युवाको कोटा सुनिश्चित गर्ने हो भने पहिलो र दोस्रो पुस्ताका नेताहरुले या त आफैं त्याग गर्नुपर्ने हुन्छ, या त युवाहरुसँग चुनावी प्रतिस्पर्धा रोज्नुपर्ने हुन्छ ।
त्यसो त माओवादीलाई काँग्रेसको जस्तो समावेशी क्लष्टर मात्रै मिलाएर पुग्दैन । पूर्वजनमुक्ति सेना, जनयुद्धका घाइते एवं अपाङ्गहरुको अनुहार पनि नेतृत्वमा देखाउनुपर्ने चुनौती माओवादी छ । त्यस्तै समावेशीका नाममा वर्गीय प्रतिनिधित्व पनि समावेश गरिनुपर्ने पार्टीभित्र माग उठेको छ । जस्तो एमालेले समेत मजदुरको समावेशी कोटा तोकेको छ । तर, माओवादीको विधानले वर्गीय कोटा तोकेको छैन ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको थिएन । विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ ।