logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माओवादी महासचिवमा देव गुरुङ !


  • राजनीति
  • आइतबार, पुष २५ २०७८

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले एक साता लामो महाधिवेशन गर्दा पनि उपाध्यक्ष, महासचिव लगायतका पदाधिकारीहरु चयन गर्न सकेन । २९९ सदस्यीय केन्द्रीय कमिटीबाट २३६ जना मात्रै छानेर महाधिवेशन सकियो । र, एक सातापछि अर्थात पुस २५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी छान्ने भनियो । तर, अहिले प्रचण्ड लगायतका नेताहरुलाई कोरोना लागेपछि केन्द्रीय कमिटीको बैठक रोकिएको छ ।

अब माओवादीका पदाधिकारीहरु २३६ जना केन्द्रीय सदस्यमध्येबाट छानिने छन् । एक अध्यक्ष, वरिष्ठसहित ७ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्षसमेत १५ सदस्यीय पदाधिकारी रहने माओवादीको विधानमा व्यवस्था छ ।

माओवादीमा कार्यकारी पद भएकाले महासचिव बढी आकर्षण देखिएको छ । महासचिवमा मुख्य दाबेदारहरुमा वर्षमान पुन र जनार्दन शर्मा देखिएका छ । शक्ति बस्नेत र पम्फा भुसालले पनि महासचिवमा झिनो दाबी गरेका छन् । तर, जनार्दन र वर्षमानबीच आपसमा सहमति नजुटे प्रचण्डले देव गुरुङलाई सर्वसम्मत महासचिवका रुपमा अगाडि सार्ने संकेतसमेत दिएका छन् ।

तर, शर्मा भने केन्द्रीय कमिटीमा चुनाव लडेरै भए पनि महासचिव बनिछाड्ने रणनीतिमा छन् । प्रचण्डले चाहिँ चुनाव लड्दा विभाजित मानसिकता देखिने भन्दै सहमतिमै पदाधिकारी छान्ने चाहना व्यक्त गरेको माओवादी नेताहरु बताउँछन् ।

विगतमा केपी ओली नेतृत्वको सरकारका बेला माओवादीभित्र गृहमन्त्री को बन्ने भन्ने झगडा चर्केको थियो । वर्षमान पुन र जनार्दन शर्मा दुबैले दाबी नछाड्दा प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाएका थिए । अहिले पार्टीको महामन्त्रीमा त्यसैगरी शर्मा र पुन आपसमा भिड्दा पूर्वबादल समूहकै नेता देव गुरुङले बाजी मार्ने सम्भावना देखिएको छ ।

पार्टी फुट्दा वैद्यतिर नलागी प्रचण्डलाई दह्रो साथ दिएका नेताहरु हुन् वर्षमान, जनार्दन र शक्ति बस्नेत । उता देव गुरुङ र पम्फा भुसाल भने वैद्य समूहमा लागेर पछि फर्किएका नेता हुन् । अब प्रचण्डले अध्यक्षको दायाँ हात मानिने महासचिव पदमा कसलाई ल्याउलान् ? माओवादीभित्र यो निकै नै चासोको विषय बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार