logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

प्रधानमन्त्रीकाे सचिवालय व्यापक फेरबदल, यी हुन नयाँ अनुहार


  • राजनीति
  • बुधबार, माघ ५ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का साथै आफ्नो सचिवालयलाई पूर्णता दिने तयारीमा जुटेका छन् । केही दिनयता प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने विषयमा छलफल थालेका छन् ।

देउवा सचिवालयका अनुसार एक हप्ताभित्र मन्त्रिपरिषद् र सचिवालयलाई पूर्णता दिने गरी छलफल थालिएको छ । गत असार २९ गते प्रधानमन्त्री भएका देउवाले असोज २२ मा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । तर यो बीचमा दुई मन्त्रीले राजीनामा दिएका थिए ।  उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल र  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएपछि दुई मन्त्रालय मन्त्रीविहीन बनेको हो । सोही मन्त्रालयमा देउवाले नयाँ नियुक्ति गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन् ।
यसैबीच प्रधानमन्त्री देउवाले सचिवालयलाई समेत पूर्णता दिने तयारी गरेका छन् ।  सरकार बनेको ६ महिना हुँदा उनले सचिवालयमा तीन जनालाई मात्र नियुक्त गरेका छन् । जसअनुसार प्रमुख स्वकीय सचिवमा देउवाले भानु देउवालाई नियुक्त गरेका छन् भने प्रशासनिक सल्लाहकारमा जनार्दन नेपाल र स्वास्थ्य सल्लाहकारमा प्रा.डा.आरपी विच्छा नियुक्त भएका छन् ।

अब भने देउवा सचिवालयलाई पूर्णता दिनेगरी प्रमुख सहयोगीको खोजीमा जुटेका हुन् ।  प्रधानमन्त्री देउवाको प्रमुख राजनीतिक सल्लाहकारमा प्रकाशशरण महतलाई नियुक्त गर्ने तयारी छ । १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित महतलाई देउवाले अब सरकारको कामसँग जोड्न राजनीतिक सल्लाहकार बनाउन लागेको बुझिएको छ ।

आर्थिक मामिला सल्लाहकारमा अर्थविद डा. पोषराज पाण्डेको नाम चर्चामा छ । यस्तै प्रेस सल्लाहकार गेजा शर्मा वाग्ले बन्ने भएका छन् । प्रधानमन्त्री देउवाले केही दिनअघि बालुवाटार बोलाएर शर्मालाई प्रेस सल्लाहकारको प्रस्ताव राखेको थिए ।

शर्मालाई प्रेस सल्लाहकार बन्न प्रधानमन्त्री देउवाले आग्रह गरेको बालुवाटार स्रोतले जानकारी दिएकाे छ। शर्मा प्रेस सल्लाहकार बन्ने भएपछि गोविन्द परियारले प्रेस संयोजका रुपमा काम गर्ने भएका छन् । अघिल्लो कार्यकालमा पनि उनी देउवाको प्रेस संयोजक थिए । यसपटक परियार प्रेस सल्लाहकार भएर काम गर्ने चाहन्थे । यता प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले पनि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा आकांक्षा देखाएका थिए ।

बद्रीलाई प्रेस सल्लाहकार मानेर परियार प्रेस संयोजकमा बस्ने अवस्था नआएपछि शर्मालाई बनाउन लागिएको बालुवाटार स्रोतले रातोपाटीलाई बतायो । अब सिग्देललाई जनसम्पर्क सल्लाहकार बनाउने तयारी गरिएको छ ।

अहिले प्रधानमन्त्रीको फोटोग्राफरका रुपमा रोशन सापकोटाले काम गरिरहेका छन् । राससमा कार्यरत सापकोटाले आगामी दिनमा पनि सोही भूमिकामा काम गर्ने बुझिएको छ ।  प्रधानमन्त्रीले परराष्ट्र मामिला सल्लाहकार र विकास विज्ञ कसलाई नियुक्त गर्ने भन्ने टुंगो लागेको छैन ।  यस्तै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. दिनेश भट्टराईको चर्चा छ । तर उनले अहिलेसम्म प्रधानमन्त्रीले आफूसँग कुनै कुराकानी नगरको बताए ।

बालुवाटार स्रोतका अनुसार पूर्व पराराष्ट्रमन्त्री महत र विदेश मामिलाका जानकार शर्माबाटै देउवाले परराष्ट्र सल्लाहकारको काम गराउने योजना बनाएका छन् ।

परराष्ट्र सल्लाहकार हुने इच्छा देखाएका शर्मालाई देउवाले सचिवालयमा हुँदा सबै काम हुने बताएका थिए । ‘तपाईं प्रेस सल्लाहकार भइदिनुस् । सचिवालयमा हुँदा परराष्ट्रको काम पनि गर्न सकिन्छ । तपाईं बस्न चाँहि प्रेस सल्लाहकार बस्नस्,’ देउवाले शर्मालाई भनेका थिए । शर्मा देउवाका यसअघिका कार्यकालमा पनि सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार