राजनीति
आज सम्पन्न भएको राष्ट्रिय सभाका १९ सिटका लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशमा राष्ट्रिय सभाका लागि मतदान सम्पन्न भएको जानकारी दिएको छ
राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् ।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको थियो । जसको मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकीकृत समाजवादी पार्टीकी नेतृ राई बिजयी भएकी हुन् । उनले ४ हजार ६९२ मतभार पाइन् । एमालेबाट उम्मेदवार बनेकी सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गरिन् ।
यस्तै सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।
एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । बुधबार बिहान भएको मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।
त्यस्तै बागमती प्रदेशको राजधानी हेटौंडामा भएको निर्वाचनको मतगणना सुरू भएको छ । हेटौंडा उपमहानगरपालिका(८ मा रहेको औद्योगिक क्षेत्रमा केहीबेर अघिबाट मतगणना सुरु भएको हो ।
बिहान १० बजेबाट सुरु भएको मतदानमा तीन सय ४३ जनाले भोट हालेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए । निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आज बेलुका ७ बजेभित्र मत परिणाम सार्वजनिक गरिसक्ने तयारी छ ।
निर्वाचनमा बागमती प्रदेशसभाका एकसय नौ जना सांसदमध्ये एकसय ६ जना र स्थानीय तहका दुई सय ३७ जनप्रतिनिधिले मतदान गरेका छन् । पार्टीको निर्णयअनुसार विवेकशील साझा पार्टीका तीन जना सांसदले भने मतदान गरेनन् ।
रिक्त सदस्यका लागि सत्तारुढ गठबन्धनबाट महिलामा नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल प्रतिष्पर्धामा छन् ।
यस्तै, विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य, नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङका बीच चुनाव भएको हो ।