राजनीति
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य पुर्णबहादुर सिंह ‘प्रबिन’ले आफ्नो पार्टीपंक्तिले मृत्युलाई जितेर आएको भन्दै कुनैपनी मुल्यमा जनताका मुद्दाहरुलाइ नछोड्ने प्रतिवद्धता जनाएकाछन । नेकपा जिल्ला समिती दोलखाको आयोजनामा जिल्लाको कालिन्चोक गाउपालिका वडा नं. १ मा २७ औं महान जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहेका पुर्ण बहादुर सिंह ‘प्रवीन’ ले जनताको सत्ता नआउदासम्म लडिरहने बताए । मन्तव्यको क्रममा उनले यो जनविरोधी दलालहरुको सत्तालाई जसरी पनि ढालिछाड्ने बताए । उनले नेपालका नदिनाला, उद्योगधन्दा दलालहरुले बेचेर खाएकाले त्यसका विरुद्धमा सशक्त रुपमा लड्नका निमित्त आम दोलखाली क्रान्तिकारी जनसमुदायलाई अपिल समेत गरे । उनले विदेश गएका युबाहरुले समेत देश बनाउन एकपटक अन्तिम लडाइँ लड्नका निमित्त तयार हुनुपर्ने बताए । मन्तव्यका क्रममा उनले चुनावको बेला भोट माग्न आउने दलालहरुलाई प्रतिरोध गर्न अनुरोध गर्दै बैज्ञानिक समाजवाद स्थापनाका निमित्त जनमत सङ्ग्रह गर्नुपर्ने बताए ।
जनयुद्ध दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमको अवसरमा समाज घरको सिलान्यास कार्यक्रम सम्पन्न भएको छ । समाज घरको सिलान्यास पार्टीका केन्द्रीय सदस्य एवम कार्यक्रमका प्रमुख अतिथी पुर्ण बहादुर सिंहले गरेकाहुन ।


उक्त कार्यक्रममा १० जना महान सहिदहरु चित्र बहादुर थामी, नेत्र बहादुर थामी, तिर्थ बहादुर कार्की (राजु), दिल बहादुर थामी, बाबुकाजी थामी, बिन्दु थामी, भिमसेन बुढाथोकी , रेशम थामी, दीपक थामी, बलदेव थामीका परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै ६० बर्ष लागेका अग्रज
कमरेडहरु कर्ण बहादुर थामी र गंगा थपलियालाई सम्मान गरिएको थियो । सहिद परिवार र अग्रज कमरेडहरुलाई कार्यक्रमक प्रमुख अतिथि पुर्ण बहादुर सिंह ‘प्रवीन’ ले अविर र खादा लगाएर सम्मान गरेका थिए ।

दोलखा जिल्ला सेक्रेटरी माधव गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन पार्टीका विशेष कमिटी सदस्य अर्जुन योगीले गरेका थिए ।