राजनीति
देउवा सरकारका कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुला सदरमुकामस्थित घरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका कार्यकर्ताहरूले कालो झण्डासहित ब्यानर राखेका छन् ।
एमसीसीको विरोधमा मन्त्री बडूको घरमा आज कालो झण्डा र ब्यानर टाँगेको नेकपा दार्चुलाका सचिव भरत मल्लले जानकारी दिए । मन्त्री बडूको दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका-५ नमस्कारमा रहेको घरमा कालो झण्डासहित ब्यानर टाँगेर एमसीसीको विरोध गरेको उनकाे भनाइ छ ।
बडूकाे घरमा टाँगिएकाे ब्यानरमा ‘दलाल मन्त्री मूर्दावाद’, ‘एमसीसी खारेज गर’ लगायतका नारा लेखिएको छ । विप्लवका कार्यकर्ताहरूले मन्त्री बडूको घरमा कालाे झण्डा राखेकाे विषयमा प्रहरी बेखबर रहेको छ ।
त्यससम्बन्धमा प्रहरीलाई कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निरीक्षक एवं सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।
विप्लवका कार्यकर्ताहरूले बिहीबार दार्चुला सदरमुकाम खलंगामा पनि एमसिसीको विरोधमा प्रर्दशन गरेका छन् ।